सलमान खानमाथि हत्याको प्रयास, सुरक्षामा कडाइ


काठमाडौं – बलिउड अभिनेता सलमान खानमाथि हत्याको प्रयास भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरबाट गोली प्रहार गरी शुक्रबार मुम्बईमा हत्याको प्रयास भएकाे हाे ।

पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको बिस्नोइ ग्याङका केही सार्पसुटरले खानको हत्याको प्रयास गरेका हुन् । टाइम्स नेटवर्कलाई उद्धृत गर्दै सबै भारतीय सञ्चारमाध्यमले यो समाचारलाई प्राथमिकताको साथ प्रसारण गरिरहेका छन् ।

सलमानको घरबाहिर सार्पसुटर पुगेर हत्याको प्रयास गरेको, तर अन्तिम समयमा फर्किएको फिल्मफेयरले जनाएको छ । लरेन्स बिस्नोइ ग्याङबाट आफूलाई कुनै खतरा नभएको भन्दै सलमान शुक्रबार बिहान घरबाहिर साइक्लिङमा निस्किएका थिए । जोखिम बढेको भन्दै सलमानको सुरक्षा कडा बनाइएको छ ।

यसैबीच, मुम्बई प्रहरीले केही दिनअघि सलमान खान र उनका पिता सलिमलाई पत्रमार्फत ज्यान मार्ने धम्की दिएको कुराको पुष्टि गरेको छ । यो धम्कीमा लरेन्स बिस्नोइ ग्याङको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

तीन जना व्यक्ति उक्त पत्र पुर्‍याउन राजस्थानदेखि मुम्बई पुगेको समेत प्रहरीले जनाएको छ । ग्याङका एक सदस्य तथा आरोपी सिद्धेश हिरामन कम्बेलसँगको सोधपुछमा यो कुराको खुलासा भएको उल्लेख छ ।

प्रतिक्रिया