

उत्कृष्ट नारा लेख्नेलाई गृह मन्त्रालयले पुरस्कार दिने

काठमाडौं- गृह मन्त्रालयले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६)का अवसरमा उपयुक्त नारा संकलन गर्ने भएको छ। ‘उत्कृष्ट’ नारालाई पुरस्कृत समेत गर्नेछ।
एक सूचनामार्फत मन्त्रालयले मौलिक तथा सन्देशमूलक नारा सिर्जना गरी पठाउन आग्रह गरेको छ। त्यस्तो नारा यही जेठ २५ गतेभित्र मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखाको इमेल ठेगाना (drug@moha.gov.np) मा पठाउन सकिनेछ।
मन्त्रालयका अनुसार नारा लागुऔषध दुरुपयोग, ओसारपसार, रोकथाम तथा नियन्त्रण गर्न सहयोग पुर्याउने सन्देश दिने खालको हुनुपर्नेछ। नारा बढीमा १० शब्दको र नेपाली भाषामा लेखिएको हुनुपर्नेछ। नाराले दिन खोजेको सन्देशबारे छोटकरीमा व्याख्या गरिएको हुनुपर्नेछ।
उत्कृष्ट नारा पठाउने पाँचजनालाई पुरस्कारस्वरूप जनही नगद दुई हजार रुपैयाँ बैंक खातामार्फत उपलब्ध गराइनेछ। पुरस्कृत नाराहरू उक्त शाखाले विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूमा प्रयोग गर्ने जनाइएको छ।

