बलात्कार आरोपित पाण्डेमाथि अनुसन्धान गर्न थप ७ दिनको म्याद
काठमाडौं – सुन्दरी प्रतियोगीतामा एक युवतीले बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट थप ७ दिनको म्याद पाएको छ ।
एक युवतीले आफुमाथी ६ महिनासम्म पटक पटक बलात्कार गरेको आरोप लगाएपछि पक्राउ परेका सुन्दरी प्रतियोगिता आयोजक तथा कन्सल्टेन्सी सञ्चालक पाण्डेलाई जिल्ला अदालत काठमाडौँले काठमाडौँ प्रहरी कार्यालयलाई ७ दिनको समय दिएको हो । यसअघि पहिलोपटक ५ दिनको म्याद दिएको थियो ।
८ वर्ष पुरानो घटना दाबी गरिएकोमा बलात्कारको हद म्याद सकिएकाले प्रहरीले मानव बेचबिखनको कसुरमा अनुसन्धान गरिरहेको छ ।
यसअघि सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धा गरेकी युवतीले एक साताअघि सामाजिक सञ्जालमार्फत आफू ८ वर्षअघि बलात्कारमा परेको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेकी थिइन् ।
वर्तमान कानुनअनुसार बलात्कार मुद्दामा घटना भएको एक वर्षभित्र अदालतमा मुद्दा पेस भइसक्नुपर्छ ।