

युकेशको ‘लोकल चिया’
आफ्नै केही गर्नका लागि युवाको प्रेरणाको स्रोत बन्दै ब्रान्डिङको लयमा 'लोकल चिया'

राजधानीको शंखमुलस्थित मेडिकल चोकबाट दायाँपट्टि दोस्रो घरको सानो ठाउँ जहाँ हेर्दा चियाको जस्तो थिममा केहि महिना अगाडि खुलेको हो–‘लोकल चिया’ ।
आठ बर्षभन्दा बढी समय हस्पिटालिटी क्षेत्रमा बिताएका युकेश त्रिपाठी आजकाल बिहानैदेखि राती अबेरसम्म चिया पसलमा व्यस्त देखिन्छन् ।
काभ्रे स्थायी घर भएका त्रिपाठी कुनै समय राजधानीकै क्याफेमा हेल्परको रुपमा काम सुरु गरेर देशकै ठूलो रिसोर्टको अपरेशन म्यानेजरसम्म भए । संघर्षका दिनमा दिनको १८ घण्टासम्म काम गरे । जति जिम्मेवारी थपियो त्यति गाह्रो हुने भन्ने कुरा थाहा पाए । तर काम सिक्नको लागि कहिल्यै पनि पछि हटेनन् । कति ठाउँमा त काम गरेको पैसा पनि समयमा पाएनन् । धेरै ठाउँहरुमा काम गरेर दक्षता हासिल गरेका युकेश अन्ततः आफैँले केही गर्नुपर्छ भन्नेमा निश्चित भए । सँगैका कति साथीहरु विदेशतिर लागे, कतिले जागिर नै चेन्ज गर्दै बसे, तर युकेश भने देशमै र आफ्नै केही गर्नुपर्छ भन्नेमा अडिग रहे ।
करिब दुई महिनासम्मको अध्ययन र सामान्य सर्वेक्षणसमेत गरे । अनि मनमा सोच पलायो– चिया पसल । चियाका पुराना गिलास खोजे । फरक स्वादका लागि चियाका थरी थरी मसला बनाए । अनि जन्माए– लोकल चिया ।
अहिले लोकल चियाले बास्मती चिया, पुदिना चिया, धुलिखेल को प्रसिद्ध खुवा लस्सी, मिल्कसेकको स्वाद ग्राहकलाई दिइरहेको छ । बाक्लो दुध चियामा आफैले बनाएको नयाँ स्वादको मसला पहिलोपटक खाँदा छुट्टै स्वाद आउने कुरा उनी ब्यक्त गर्दछन् ।
एकपटक आइसकेका ग्राहकहरु फेरि फर्केर आउनु उनले आफूलाई सफल भएको बताउँछन् । चिया र लस्सी खानकै लागि फर्कि फर्कि आउनेहरुको उपस्थिति नै आफ्नो सफलताको मापक बनेको युकेश बताउँछन् । जसको कारण उनको उत्कृष्ट सेवासहितको फरक स्वाद भएको कुरा लोकल चियाका पाहुनाहरु बताउँछन् । उनी भन्छन् ग्राहक हाम्रा पाहुना हुन् । हामी जे बनाउँछौँ लोकल स्वादमा बनाउँछौँ ।
साँझको समयमा होस्टेल बस्ने विद्यार्थीदेखि बाटो हिँड्नेहरु धाएरै उनको पसलमा चियाको लागि झुम्मिन्छन् । उनी चिया बनाउन र दिनमै व्यस्त हुन्छन् । व्यवस्थापनमा स्नातकोत्तर पढिरहेका उनले सानो ठाउँलाई लिएर नेपालमै पनि केहि गर्न सकिन्छ भन्ने ठूलै सन्देश युवाहरुलाई दिएका छन् ।
चिया खाँदै गर्दा भेटिएका स्याङ्जाका अभिषेक पङ्गेनी भन्छन्, ‘यहाँको बास्मती चियाको स्वाद नौलो अनि स्पेशल छ । दिनहुँ नआई चित्तै बुझ्दैन । अझ लस्सी त इन्द«चोकको भन्दा पनि मिठो, आहा ।’
त्यस्तै पुरानो बानेश्वरका राजन मानन्धर पनि लस्सी खाँदै गर्दा भेटिए । उनी नाकको टुप्पामा लागेको लस्सी पुछ्दै भन्छन् । ‘यहाँको खुवा लस्सीको स्वाद खाउँ खाउँ लाग्ने छ । त्यसमाथि युवाको आफ्नो ठाउँप्रतिको मायाँ देखेर पनि म यहाँ नआइ रहन सक्दिन अचेल ।’
लोकल चियामा अहिले दश थरीका चिया पाइन्छ । त्यसमा पनि पुदिना चिया, बास्मती चिया र खुवा लस्सि ग्राहकले धेरै रुचाउने पेय पदार्थ भएको उनी बताउँछन् ।
मृदुभाषी अनि हँसिला युकेश थुप्रै होटेल, रेस्टुरेन्ट, रिसोर्टमा काम गरेका उनी ग्राहकको रोजाइमा पर्थे । काम गर्ने शैली, उनको मिहेनतलाई धेरैले प्रशंसा गर्दथे । जहाँ काम गर्थे उनी त्यहाँ सबै काम गर्ने साथीहरुलाई परिवार मान्थे । आफुले जानेको सबै सिकाउँथे । आफँै पनि गर्थे । हरेक गेष्टको टेबुलमा पुग्थे । कुनैपनि काम सानो ठुलो भन्दैनथे, त्यो काम नै युकेशको हरेक सञ्चालकको नजरमा पर्ने माध्यम थियो ।
पछिल्लो समय उनी काठमाडौँको पुरानो रेस्टुरेन्ट इन्द्रेणी गु्रपमा ब्रान्च म्यानेजर थिए । त्यहि गु्रपको सञ्चालक शम्भु श्रेष्ठको प्रेरणाले आफ्नै केहि गरौँ कि भन्ने सोच बनाए । गहिरो अध्ययन गरे । बैदेशिक रोजगारीका लागि देशमा तँछाडमछाड चलिरहेको बेला देशमा युकेश जस्ता युवाहरुले आत्मनिर्भरका लागि नयाँ नयाँ क्षेत्रमा हात हाल्नु प्रेरणाको स्रोत बन्न सक्छ । विदेशिन चाहने युवाका लागि प्रेरणाको स्रोत बनेका युकेशले दुईमहिना अगाडिबाट आफ्नो सेवा दिन थालेका हुन् । सुरुवात समयमै प्रशस्त गं्राहकको मन जित्न सफल युकेशको लोकल चियाले गर्दा अहिले केही हौसिएका पनि छन् । हरेक नेपालीको भान्सामा पाक्ने चियालाई केही हदसम्म भए पनि ब्रान्डिङ गर्न आफू सफल भएको ठान्ने युकेशले केही महिनाको प्रतिक्रिया र बजारलाई हेरेर देशका विभिन्न स्थानमा पनि शाखा विस्तार गर्ने योजनामा छन् ।
व्यवस्थापनका विद्यार्थीले सञ्चालनमा ल्याएको ‘लोकल चिया’लाई ब्रान्डको रुपमा लैजाँदै गरेका युकेशलाई बधाई अनि शुभकामना ।

