

मङ्कीपक्स प्रकोप नियन्त्रण गर्न सकिने विश्व स्वास्थ्य सङ्गठनको भनाइ

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले अफ्रिकाबाहिर सामान्यतया मङ्कीपक्स नपाइने हुँदा ती देशमा उक्त भाइरस नियन्त्रण गर्न सकिने जनाएको छ।अमेरिकी महादेश, युरोप र अस्ट्रेलियामा मङ्कीपक्सबाट एक सय जनाभन्दा बढी सङ्क्रमित भएको बताइएको छ।
उक्त सङ्ख्या थप बढ्न सक्ने अपेक्षा गरिएको छ, तर ठूलो जनसङ्ख्यामा जोखिम भने निकै कम रहेको विज्ञहरूले बताएका छन्। अफ्रिकाको मध्य अनि पश्चिमी क्षेत्रका ग्रामीण भेगमा यो भाइरस सामान्य रूपमा पाइन्छ।
‘यो नियन्त्रण गर्न सकिने अवस्था हो, हामीले मानवबाट मानवमा हुने सङ्क्रमणलाई रोक्न चाहेका हौँ,’ डब्ल्यूएचओकी भान कर्कोभाले सोमवार एउटा पत्रकार सम्मेलनमा भनिन्। अफ्रिकाबाहिर हाल १६ देशमा यो भाइरस फेला परेको पाइएको छ।
पछिल्लो ५० वर्षमा अफ्रिकाबाहिर फैलिएको यो सबैभन्दा ठूलो स्तरको प्रकोप भए पनि मङ्कीपक्स सहजै मानिसहरूमा नसर्ने हुँदा यसको जोखिम कोरोनाभाइरस महामारीसँग तुलना गर्न नसकिने विज्ञहरूको भनाइ छ।
डब्ल्यूएचओले अफ्रिकाबाहिर मङ्कीपक्स प्रकोप लक्षित ठूलो स्तरको खोप कार्यक्रम आवश्यक पर्ने आफूहरूको विश्वास नरहेको जनाएको छ। समाचार संस्था रोयटर्ससँगको अन्तर्वार्तामा डब्ल्यूएचओका एक वरिष्ठ अधिकारीले प्रकोप नियन्त्रण गर्ने प्रारम्भिक उपायहरूमा कनट्याक्ट ट्रेसिङ, एकान्तवास र सुरक्षित यौन व्यवहार रहेको उल्लेख गरे।
अमेरिकाले आफूसँग बिफर र मङ्कीपक्सविरुद्ध प्रयोग गर्नका लागि स्वीकृति प्राप्त सानो परिमाणमा खोप उपलब्ध रहेको र त्यो सङ्क्रमित मानिसहरूसँग नजिकको सम्पर्कमा पुगेकाहरूलाई उपलब्ध गराउने तयारी गरिएको जनाएको छ।
लक्षणहरू के हुन् :
सङ्क्रमणका प्रारम्भिक लक्षणमा ज्वरो आउनु, टाउको दुख्नु, जीउ सुन्निनु, ढाड दुख्नु, मांसपेशी दुख्नु र छटपटी हुनु पर्छन्।
एक पटक ज्वरो आएपछि सुरुमा अनुहार हुँदै शरीरका अन्य भागहरू, प्रायः हत्केला र पैतालामा डाबर देखा पर्न सक्छ।
त्यस्ता डाबरहरू अत्यन्तै चिलाउने हुनसक्छन्। डाबरमा पाप्रा लाग्नुअघि विभिन्न चरणमा परिवर्तन हुन्छ र पछि उप्किन्छ।
सङ्क्रमणका कारण भएको घाउ १४ देखि २१ दिनसम्म रहन्छ र सामान्यतया आफैँ हराउँछ।
सङ्क्रमण कसरी हुन्छ ?
सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउँदा मङ्कीपक्स सर्छ। फुटेको छाला, श्वासनली वा आँखा, नाक वा मुखबाट यो भाइरस शरीरमा प्रवेश गर्न सक्छ।
यसलाई यौनबाट सर्ने सङ्क्रमणको रूपमा व्याख्या गरिएको छैन। तर शारीरिक सम्बन्धको क्रममा प्रत्यक्ष सम्पर्कमार्फत् पनि यो सर्न सक्छ।
त्यस्तै बाँदर, मुसालगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि फैलिन सक्छ।
ज्वरो आउने, टाउको दुख्ने, सुजन हुने, ढाड दुख्ने, मांसपेशी दुख्ने जस्ता समस्या मङ्कीपक्सका लक्षण हुन् ।
ज्वरो आउने, टाउको दुख्ने, सुजन हुने, ढाड दुख्ने, मांसपेशी दुख्ने जस्ता समस्या मङ्कीपक्सका लक्षण हुन् ।
प्रायशः यस भाइरसले मध्यम खालका असरहरू गर्छ। कहिलेकाहीँ यसका प्रभावहरू ठेउला हुँदा जस्तै देखिन्छन् र केही सातामै निको हुन्छ। यद्यपि यो भाइरसको सङ्क्रमण कहिलेकाहीँ निकै गम्भीर हुनसक्छ र मङ्कीपक्सका कारण पश्चिम अफ्रिकामा बिरामको मृत्यु भएको समेत पुष्टि भएको छ।
थुनेर राखिएको एउटा बाँदरमा यो भाइरस पहिलो पटक पहिचान गरिएको थियो। सन् १९७० देखि नै अफ्रिकाका १० वटा देशमा यो भाइरसका कारण प्रकोप निम्तिएको देखिएको छ।
सन् २००३ मा अमेरिकामा यसको प्रकोप देखियो। मङ्कीपक्स अफ्रिकाबाहिर देखिएको त्यो पहिलो पटक थियो।
उपचार के हो ?
मङ्कीपक्सको अहिलेसम्म कुनै उपचार छैन। तर सङ्क्रमण रोकथाम र प्रकोप नियन्त्रण गर्न सकिन्छ।
यो भाइरसको सङ्क्रमण रोक्नको निम्ति बिफरविरुद्धको खोप ८५ प्रतिशत प्रभावकारी साबित भएको छ र अझै पनि त्यसको प्रयोग गरिन्छ।

