

उम्मेदवार विजयीको घोषणापछि भेटियो सिल नै नखोलिएको मतपेटिका, अब के गर्ने ?

महोत्तरी – महोत्तरीको बर्दिबास नगरपालिका वडानम्बर ८ का वडाध्यक्ष र सदस्यका उम्मेदवारहरु विजयी भएको घोषणा भएपछि एउटा मतपेटिका सिलबन्दी गरिएको अवस्थामा फेला परेको छ। मतगणना सकिएको भन्दै बढी मत ल्याएका उम्मेदवारले विजयी जुलुस समेत गरिसकेको अवस्थामा सिलबन्दी गरिएको मतपेटिका भेटिए हाे ।
उम्मेदबार विजयी भएको घोषणा गरेको अवस्थामा अब कसरी मत गन्ने वा के गर्ने भन्ने विषयमा अन्योल भएपछि निर्वाचन अधिकृतको कार्यालयले के गर्ने ? भन्दै निर्वाचन आयोगलाई पत्र लेखेको छ।
९ वटा मतपेटिका रहेको उक्त क्षेत्रमा आठवटा मात्र गणना भएको, कुनामा राखिएको मतपेटिका मतगणनास्थलमा लैजान छुटेका कारण यस्तो घटना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले गणना गर्ने समयमा मतपेटिका नभेटिएको, तर पछि भेटिएकाले के गर्ने भन्ने अन्योल भएर आयोगलाई पत्र पठाइएको र आयोगले जवाफ दिएपछि त्यही अनुसार अघि वढ्ने बताए।

