सागकी स्वर्णपदक विजेता चौधरी मृत भेटिइन्


ललितपुर – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन् ।

एसियाली खेलकुदको तयारीमा रहेकी चौधरी ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी थिइन् । प्रशिक्षणका लागि लुभुको एक घरमा नै बस्दै आएकी चौधरी मंगलबार बिहान मृत फेला परेकी प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सञ्जु सुतेको ढोकामा भित्रबाट चुकुल र झ्यालको ग्रील लगाइएको अवस्थामा नै मृत भेटिएकी थिइन् । घटनाबारे थाहा पाएर बिहान साढे ५ बजे घटनास्थलमा पुगेको प्रहरीले अहिले अनुसन्धान सुरु गरेको छ ।

बाँके घर भएकी सन्जुले १३ औं सागमा भारत्तोलनमा महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् ।

१९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा सामेल हुन सन्जु काठमाडौं आएकी थिइन् ।

उनी एसियन गेम्सका लागि प्रारम्भिक छनोटमा परेकी थिइन् ।

नेपाल प्रहरीका प्रवक्ता बिष्णु कुमार केसीले घटनाको प्रकृति हेर्दा आत्महत्या गरेको देखिएको र अनुसन्धानपछि थप जानकारी आउने बताए ।

प्रतिक्रिया