‘चुनावी घरदैलोमा सगुन खाएर बेहोस भए तत्काल प्रहरीलाई खबर गर्नू’


काठमाडौं – चुनावी घरदैलोका क्रममा दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरूलाई अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन ग्रहणका लागि प्रस्ताव हुने र सो खाएपछि बिरामी पर्ने गरेको भन्दै सचेत रहन नेपाल प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले एक सार्वजनिक सूचनामार्फत सगुन सेवनप्रश्चात कोही बेहोस हुने र कोही चक्कर लागेर लड्नेजस्ता घटनाहरु भएको पाइएको भन्दै सार्वजनिक सूचना निकालेको हो ।

प्रहरीले भनेको छ, ‘स्थानीय तहको निर्वाचन २०७९ को सन्दर्भमा विभिन्न राजनीतिक दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरु प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम गरिरहेको अवस्थामा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन ग्रहणका निमित्त प्रस्ताव भई प्रसाद वा सगुन सेवन गरेपश्चात् कोही बेहोस हुने र कोही चक्कर लागेर लड्ने जस्ता घटनाहरु घटेको पाइएकोले निर्वाचन जस्तो संवेदनशील समयमा यस प्रकारका घटनाहरुबाट सुरक्षित रहन र त्यस्तो सूचना भए नेपाल प्रहरीलाई तत्काल जानकारी गराउन हुन यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ।’

आजै आइतवार  सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ का उम्मेदवारसहित ३ जना गाउँलेले दिएको ‘सगुन’ खाँदा बिरामी परेका थिए । निर्वाचन प्रचारप्रसारका क्रममा रहेका माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार शेष इस्तिहारसहित ३ जना बिरामी भएका हुन् ।

भोट माग्दै जाँदा हरिवनका गाउँका स्थानीयहरुले उम्मेदवारसहितका निर्वाचन प्रचारप्रसारमा रहेका टोलीलाई ‘सगुन’ भन्दै खानेकुरा खान दिएका थिए । सोही खाएपछि शेषसहित उमा साह र पूर्णिमा कार्की पनि बिरामी बनेकी छन् ।

बिरामी भएकामध्ये उम्मेदवार शेषलगायतलाई स्थानीय अस्पतालमा उपचार गराउँदा पोइजनिङ देखिएको प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीले जानकारी दिए ।

बिरामी भएकामध्ये शेषलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ भने बाँकी दुई जनाको स्थानीय अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिक्रिया