जलेश्वरमा रहेका निधी जनकपुरकाे भाेलि हुने आमसभामामा नजाने


काठमाडौं – नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधी पार्टीले शुक्रबार आयोजना गरेको पार्टीको प्रदेशस्तरीय आमसभामा नजाने भएका छन् ।

पार्टीले बनाएको निर्वाचन परिचालन समितिले तयार गरेको वक्ताको सूचीप्रति आपत्ति जनाउँदै निधी चुनावी सभामा सहभागी नहुने भएका हुन् ।

कांग्रेसले बुधबार बैशाख २१ गतेदेखि २७ गतेसम्म देशका १० शहरमा गर्ने चुनावी सभामा पार्टीसभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलसहित फरक फरक जिल्लामा पार्टीका पदाधिकारीलाई मात्र वक्ता राखिएको छ ।

शुक्रबार जनकपुरमा राखिएको पार्टीको आमसभामा देउवा र पौडेलवाहेक सहमहामन्त्रीद्वय भिष्मराज आङ्दम्बे र महेन्द्र यादव लगायत वक्ता रहने भनी वक्ताको सूची तयार गरी सार्वजनिक गरेको विषयप्रति निधीले आपत्ति जनाउँदै सभामा नजाने निर्णय गरेका हुन् ।

शुक्रबार दिउँसो २ बजे हुने भनिएको सभामा भाग लिनुअघि देउवा र पौडेलले बुटबल र दमौलीको आमसभालाई संवोधन गर्ने कार्यक्रम तय भएको छ । जनकपुरमा हुने सभामा सहभागी हुने वक्ता नेताको सूचीमा निधीको नाम नराखेपछि उनी सभामा सहभागी नहुने धनुषा कांग्रेसका उपसभापति गणेश झाले बताए ।

चुनावी सभामा सहभागी नहुने भए पनि निधी धनुषाकै विभिन्न स्थानीय तहमा उम्मेदवार भएका पार्टीका नेतालाई जिताउन आयोजना गरिने अन्य कार्यक्रममा भने सहभागी हुने भएका छन् ।

पार्टीको तर्फबाट उम्मेदवार भएकाहरुको प्रचार–प्रसारका लागि निधी बिहीबार महोत्तरी सदरमुकाम जलेश्वर पुगेका छन् । जलेश्वर नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिएका शम्भु पाठकको पक्षमा प्रचार–प्रसार गर्न उनी जलेश्वर पुगेका हुन् ।

यसअघि बिराटनगरमा बुधबार आयोजना गरिएको आमसभामा पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी भएनन् । उनलाई वक्ताको रुपमा नाम सार्वजनिक नगरेपछि झापामा रहेका सिटौला बिराटनगर आएनन् ।

प्रतिक्रिया