यातायात कार्यालयमा सेवाग्राहीलाई दुःख दिने १० जना प्रहरीकाे नियन्त्रणमा


काठमाडौं  – ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई सेवा लिन अवरोध गर्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगर-१४ तिखिदेवलका ३४ वर्षका सुजन बुढाथोकी, दोलखा गाउँपालिका-७ का ३४ वर्षका विवेक थापा, धनुषा वटेश्वरका ३५ वर्षका दुनियाबहादुर राउत, काभ्रे महाभारत गाउँपालिका-५ का २२ वर्षीय विशाल तामाङ रहेका ललितपुरका प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले जानकारी दिए।

ललितपुर बाँडेगाउँका ३९ वर्षका सुनिल बज्राचार्य, पाटन ढोकाका ३६ वर्षका महेश सुवेदी, २६ वर्षका राजेश सुनुवार, रामेछापका २६ वर्षका शिव दर्जी, बारा निजगढ नगरपालिकाका २४ वर्षीय रोशन घिमिरे र काभ्रे शिखर अम्बोटे-१ का ३३ वर्षका कमल लामालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

लामो समयदेखि ललितपुर महानगरपालिका-१३ एकान्तकुनास्थित रहेको यातायात व्यवस्था कार्यालय बागमतीको परिसरभित्र तथा बाहिरसमेत अनधिकृत रूपमा मानिसहरू भेला भई कार्यालयमा काम लिएर आउने सेवाग्राहीहरूलाई अनावश्यक झन्झट दिने १० जनालाई जिल्ला प्रहरी परिसर ललितपुरले नियन्त्रणमा लिएको हो।

उनीहरूले अनावश्यक झन्झटमा पारी कार्यालयको काममा समेत बाधा अवरोध पुर्‍याएको, सेवा लिन अवरोध गर्ने, अभद्र व्यवहार गर्ने गरेको भन्ने जनगुनासो आएपछि प्रहरीले उनीहरूलाई समातेर हिरासतमा राखेको छ।

प्रतिक्रिया