गोरखामा केन्द्रको निर्देशन बमोजिम जसपासँग कांग्रेसले तालमेल नगर्ने : भट्टराइ तनावमा


काठमाडौं । नेपाली कांग्रेसको गोरखा जिल्ला कार्यसमितिले पार्टी केन्द्रले दिएको निर्देशन बमोजिम गोरखा र पालुङटार नगरपालिकामा जनता समाजवादी पार्र्टी (जसपा) संँग तालमेल नगर्ने निर्णय गरेको छ ।

पूर्वंप्रधानमन्त्री तथा जसपाको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृह जिल्लामा पर्ने दुबै नगरपालिकामा कांग्रेसले आफ्नो दाबी नछाड्ने निर्णय गरेको भन्दै पार्टी जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन चुनावी अभियानमा जुट्न निर्देशन दिएका छन् ।

केन्द्रमा भएको सहमतिअनुसार जसपासँग चुनावी तालमेल हुन नसकेपछि कांग्रेसले गोरखा र पालुङटार नगरपालिकामा एक्लै प्रतिष्पर्धामा उत्रने भएको हो । कांग्रेसले उम्मेदवारी फिर्ता नलिएपछि पूर्वप्रधानमन्त्री डा. भट्टराइ तनावमा परेका छन् ।

अध्यक्ष न्यौपानेले चुनावी तालमेलको प्रयास गर्दा जसपा र कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताबीच एकल रुपमा स्वस्थ र मित्रवत प्रतिष्पर्धा गर्ने सहमति भएपछि दुवै नगरमा एकल रुपमा निर्वाचनमा जाने निर्णय गरिएको जिल्ला सभापति न्यौपानेले जनाएका छन् ।

यसअघि डा. भट्टराईले सत्तागठबन्धन बैठकमा पालुङटारको मेयर जसपाले पाउनुपर्ने अडान राखेपछि कांग्रेसको तर्फबाट उम्मेदवार भएका ई. दिपकबाबु कँडेललाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिइएको थियो । तर, पार्टीको त्यस्तो पत्र उम्मेदवारी फिर्ता लिने दिन ५ बजेपछि मात्र आएकोले कँडेलको उम्मेदवारी फिर्ता भएको थिएन ।

पालुङटारको प्रमुखका लागि जसपाले प्रेम गुरुङलाई उम्मेदवार बनाएको छ भने कांग्रेसले कँडेललाई उम्मेदवार बनाएको छ । पालुङ्टार पूर्वप्रधानमन्त्री भट्टराई र माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्वप्रमुख स्वकिय सचिव चुणमणि खड्काको गृह जिल्ला हो ।

यता गोरखाको प्रमुखमा उम्मेदवारी दिएका निवर्तमान नगर प्रमुख कांग्रेसका राजनराज पन्तले पनि उम्मेदवारी फिर्ता नलिने भएका छन् । जनता समाजबादीले गोरखा नगरपालिकामा आफूले अध्यक्षको उम्मेदवार नउठाई माओबादीका कृष्ण रानालाई नगर प्रमुखको उम्मेदवारमा समर्थन गरेको छ ।

कांग्रेसको नगर कार्यसमिति र वडा समितिका नेता तथा कार्यकर्ताले आफूले विगतमा विजय हासिल गरेका नगरपालिकामा आफू कमजोर हुने गरी जसपासँग तालमेल नगर्ने अडान लिएपछि गोरखामा कांग्रेसले तालमेल नगर्ने अडान लिएको हो ।

प्रतिक्रिया