केशव स्थापितले साम्प्रदायिक घृणा फैल्याएको कांग्रेस नेता पौडेलको दाबी


काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा नेविसंघका पूर्वअध्यक्ष प्रदीप पौडेलले काठमाडौँ महानगरको प्रमुखमा नेकपा एमालेको तर्फबाट उम्मेदवार भएका केशव स्थापितले चुनावी फाइदाका लागि साम्प्रदायिक घृणा फैल्याउन मधेसको आत्मसम्मानमा चोट पु¥याएको भन्दै आपत्ति जनाएका छन् ।

महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहलाई लक्षित गरेर केशव स्थापितले दिएको अभिव्यक्तिले स्थापितलाई चुनावी फाइदाको स्वार्थ पुरा गर्ने उदेश्य राखे पनि मधेसको आत्मसम्मानमा चोट पु¥याएको भन्दै आपत्ति जनाएका हुन् ।

‘केशव स्थापितले चुनावी फाइदाका लागि मधेसको आत्मसम्मानमा चोट पु¥याउनु भयो’, नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘साम्प्रदायिक घृणा र धु्रविकरणको यो घिन लाग्दो खेल केपी ओलीले पहिल्यै खेलिसक्नु भएको हो । महिलामाथि त सार्वजनिक मञ्च मै हिंसा भइरहेको छ ।’

एमाले उम्मेदवार स्थापित अर्कै ग्रहबाट पहिलोपटक काठमाडाैमा ओर्लेजस्तो गरी चुनावी ‘फन्डा’ गरिरहेको टिप्पणी गर्दै पौडेलले हिंसा, विद्वेष, सिद्धान्तहीनता र अवसरवाद काठमाडौँको रोजाइ हुन नसक्ने बताए ।

‘हावा गफ त ओलीजी बाटै टन्न अघाउने गरी सुनिसकेका छौँ,’ उनले भने, ‘स्थापित र ओलीका नाममा उर्दुको एउटा शेर ः एक ही उल्लु काफी था बरबाद गुलिस्तां करनेको, अंजाम गुलिस्तां क्या होगा जब हर डाल पर उल्लु बैठा हो।’

नेता पौडेलले स्थापित काठमाडौँ महानगरको प्रमुखमा निर्वाचित भएको, शाही शासनकालमा मनोनीत मेयर बनेको, डा. बाबुराम भट्टराई सरकारको पालामा काठमाडौँ उपत्यका विकास प्राधिकरणको जागिर खाइसकेको पनि स्मरण गराएका छन् ।

‘योजना र कार्यक्रममा स्थापितले निर्वाचित मेयरको रुपमा पूरै पाँच वर्षको कार्यकाल पूरा गरिसक्नु भएकोले शाही शासनकालमा ज्ञानेन्द्रको मनोनीत मेयर भएर पनि काठमाडौँको सेवा गरिसक्नु भएको हो,’ उनले लेखेका छन्, ‘त्यतिले नपुगेर डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाडौँ उपत्यका विकास प्राधिकरणको जागिर पनि खाइसक्नु भएको हो।’

केही दिनअघि सार्वजनिक मञ्चमा एमालेको तर्फबाट काठमाडौंमा मेयरको उम्मेदवारी दिएका स्थापितले ‘बालेन साह मधेशमा जन्मिएर पनि काठमाडौमा जन्मिएको ठकुरी शाह भएको झुटो दाबी गरेको’ भनी अभिव्यक्ति दिएका थिए ।

 

प्रतिक्रिया