यसरी हिट भयो राप्रपा अध्यक्ष थापाको ‘तीन पाते डाँडा’


काठमाडौं– राजेश हमाल र कमल थापाको अगाडि ‘नेता’ शब्द जोडिन्छ । अर्थात हमाल अभिनेता हुन् भने थापा राजनीतिक नेता । यी अनुहारले दुई फरक पृष्ठभूमिको प्रतिनिधित्व गरे पनि उनीहरूबीच एउटा ‘समानता’ छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापा लोकतान्त्रिक व्यवस्थालाई स्वीकार गर्छन् । तर, उनको मतिको व्याख्याचाहिँ पञ्चायतकालिन व्यवस्थाको नजिक रहेको व्याख्या हुन्छ ।

तर सृजना र व्यवस्थाको तालमेलको भन्दा भाव र अनुरागसँगको सम्बन्ध बलियो हुन्छ । यसैका गतिशीलताका प्रमाण हुन् थापा ।

२०४५ सालमा निर्माण भएको फिल्म ‘युगदेखि युगसम्म’मार्फत अभिनेता हमाल नेपाली रजतपटमा ‘डेब्यू’ गरिरहँदा नेता थापा पनि फिल्म गीतकारका रुपमा ‘डेब्यू’ गरे ।

सायदै कमैलाई मात्र थाहा होला, यो फिल्मको एउटा चर्चित गीत ‘तीन पाते डाँडा काटेर’का गीतकार नेता थापा नै हुन् । जुन गीतमा अभिनेता हमाल र अभिनेत्री कृष्टि मैनाली फिचर्ड छन् । दीपक रायमाझीको निर्देशनमा बनेको यो फिल्ममा छविराज ओझा र कुवेर शर्मा निर्माता थिए ।

पञ्चायतमा तयारी, बहुदलमा सुटिङ र रिलिज

फिल्म बनाउनुपर्छ भनेर २०४५ सालको अन्त्यतिर निर्देशक दीपक रायमाझी, संगीतकार शम्भुजित बासकोटा र निर्माता छविराज ओझासहितको टिम बसेर फिल्मको खाका बनाएको थियो ।

‘त्यो बेलामा सायदै त पञ्चायती व्यवस्था थियो । त्यतिखेर सञ्चारमन्त्री कमल थापा नै थिए क्यार । गीतको सबै व्यवस्था शम्भुजीत दाईले आफै मिलाउनु भयो । हामी बम्बई पनि गयौं, रेकर्डिङ पनि गर्यौं । त्यो बेला भेरिएसन थियो । हरेक स्टुडियोमा अनुराधा पौडेल, उदितनारायण, भिम्नी, विजय जेनेडिक जस्ता गायकगायिकाको स्वरमा गीत रेकर्ड गर्यौ,’ छविराज सम्झन्छन् ।

‘सबै रेकर्डिङ गरेर आइसकेपछि सुटिङ गर्न नपाउँदै आन्दोलन शुरु भयो । त्यसपछि हामीले सुटिङ गरेनौं र चुप लागेर बस्यौं । २०४६ सालको आन्दोलन चैतमा सकियो, अनि जेठबाट तयारी गरेर असारबाट सुटिङ शुरु गरेका थियौं’, उनले सुनाए ।

फिल्मको सुटिङ सकिएपछि सोही वर्ष फिल्म रिलिज भएको थियो ।

कसरी बन्यो गीत ? 

गीतकार थापा र गायक प्रकाश श्रेष्ठ पुराना साथी हुन् । हेटौंडाका थापा र वीरगञ्जका श्रेष्ठको जिल्ला नजिक भएकाले पनि उनीहरूको चिनजान राम्रै थियो ।

गायनमा चर्चा बटुलिरहेका प्रकाशलाई कमलले आफ्ना केही गीत गाउनका लागि दिएका रहेछन् । ती गीतमध्ये ‘तीन पाते डाँडा’का संगीतकार शम्भुजित बासकोटाको हातमा पुग्यो ।

‘कमल थापा कुशल नेतासँगै खेलाडी पनि हो । म पहिलेदेखि नै चिन्थें । उहाँको फूटबल हेर्थे ।

कहिलेकाँही भेट्दा खेरी उहाँले प्रशंसा गर्नुहुन्थ्यो । म त्यतिबेला प्रज्ञा प्रतिष्ठानमा कार्यरत रहँदा त्यो गीत गायक प्रकाशमार्फत आइपुग्यो’, शम्भुजित सम्झन्छन्, ‘तीन पाते गीत कमलजीले कवितात्मक भावमा लेख्नुभएको थियो । मैले त्यसको अन्तरा, मुखडा हेर्दै गएपछि हल्का एडिट गरेर गीति धारमा ल्याएँ । त्यो गीत केटाले भन्दा पनि केटीले गाउनुपर्ने जस्तो लाग्यो । म गीतमा नेपाली शब्द, मिठास, नेपाली समाजको भोगाई हेर्नेगर्छु । यो गीतमा ‘कहाँ जान लाग्यौं सारंगी दाई’ भन्ने वाक्यले मलाई तान्यो । म आफैं हेटौंडा गएर गीतारको धुनमा संगीत कम्पोज गर्ने गरेकाले त्यताको फ्लेभर थाहा थियो ।’

शम्भुजितले ‘तीन पाते’को सुर बनाइरहँदा त्यही समय उनले फिल्म ‘युगदेखि युगसम्म’को संगीत गर्ने कुराकानी चलिरहेको थियो ।

फिल्मका लागि निर्देशक दीपक रायमाझी पनि बाहिरबाट नेपाल आइसकेका थिए । दीपकले गीत कम्पोज गरिदिन आग्रह गरेपछि शम्भुजीतले नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेर हार्मोनियममा गीत कम्पोज गरे । त्यो हार्मोनी अहिले पनि बासकोटासँग सुरक्षित छ ।

उनले कम्पोज गरेको गीत निर्देशक रायमाझीसहित निर्माता छविराज ओझा र कुवेर शर्मालाई सुनाए । उनीहरूलाई पनि गीतको ट्युनिङ मनपर्यो ।

आशा भोषलेले गुमाएको मौका

नेपालमा गीतको कम्पोजिसन सकिएपछि गीतलाई मुम्बईमा गएर रेकर्ड गर्ने निर्माताहरूले अडान लिए । उनीहरूको चाहना गायिका आशा भोषलेको स्वरमा रेकर्ड गराउने थियो ।

‘हामी गीत लिएर मुम्बई पुग्दा आशा भोषले लण्डनमा हुनुहुन्थ्यो । उहाँले एक हप्ता समय माग्नुभएको थियो । हामी नेपाली धैर्य नगर्ने भएर पनि उहाँलाई रेकर्ड गराउन सकेनौं’, शम्भुजित सम्झन्छन्, ‘त्यो समयमा मुम्बईमा रेकर्ड गरिएका गीतमा गुणस्तर थियो । यहाँ राम्रा गायकगायिका हुँदा हुँदै पनि निर्माताहरूले आशा भोषलेलाई नै गाउन दिने निर्णय लिएपछि हामी मुम्बई गएका थियौं । आशाजीसँग मैले विजय पराजयलगायतका फिल्ममा काम गरिसकेको थिएँ ।’

मेहबुब स्टुडियोमा रेकर्ड

गायिका आशा भोषलेबाट गाउन सम्भव नभएपछि निर्माताको नजरमा अनुराधा पौडेल परिन् । गुलसन कुमारको स्टुडियोमा गायिका अनुराधाले भोकल डब गरेर मुम्बईकै सबैभन्दा ठूलो स्टुडियोमध्ये एक मेहबुब स्टुडियोमा गीत रेकर्ड गरिन् । गीतमा बब्लु चक्रवर्तीको एरेन्ज र टेगोर दाको रेकर्डिङ थियो । शम्भुजितका अनुसार यो स्टुडियोमा लक्ष्मीकान्त प्यारेलाललगायतका संगीतकर्मीहरू काम गर्दथे ।

पहिलो दिन नै तीनपाते सुटिङ

फिल्मको छायांकनको शुरुवात नै गीत ‘तीनपाते डाँडा’ बाट गरिएको थियो । गीतमा कृष्टि र राजेशलाई कोरियोग्राफर बसन्तजंग रायमाझीले नचाएका थिए । दक्षिणकाली माथिको सल्लाघारीको जंगलमा छायांकन गरिएको थियो ।

‘गीतको वर्डिङ नै राम्रो थियो । नेपाली संस्कृति, नेपाली लय, नेपालीलाई नै सुहाउने र नेपाली बोलीचोली भएर राम्रो थियो’, छविराज सम्झन्छन्, ‘त्यही भएर गीतले नेपालको हरियाली डाँडाकाडालई समेटेको छ ।’

सुटिङमा समस्या

निर्देशक दीपक रायमाझी र छाँयाकार जावेद शाह रसियामा पढेर आएकाले फिल्मको काममा उनीहरू कडा थिए । उनीहरू घाम लाग्दा सुटिङ गर्ने र बादल लाग्दा सुटिङ रोक्ने गर्दथे ।

‘अहिलेजस्तो डिजिटल समय थिएन । जे गर्दा पनि भोलि सम्पादनको टेबलमा मिलाइन्छ भन्न थिएन । हामी कति दिन त चोभारकै डाँडामा गयौं । फिल्मको क्लाइमेक्स पनि त्यही खिच्यौं । आउटडोरको सुटिङ गन्तव्य नै चोभार हुन्थ्यो’, छविराज भन्छन् ।

जोखिम उस्तै

यो फिल्मको काम शुरु हुँदा भुवन केसी, शिव श्रेष्ठ त्यसबेलाका चल्तीका अभिनेता थिए । तर छविराज र उनको निर्माण टिमले यी दुई अभिनेतालाई नलिई राजेश हमाललाई लिए । जुन आफैंमा जोखिमपूर्ण थियो ।

‘मेरो, राजेशजी र दीपकजीले पहिलोपटक हात हालेकाले हरेक कोणबाट हेर्दा पूर्ण प्रेमकथाको फिल्म बनाउन रिस्क लिएका थियौं । किनभने त्यो बेला भुवन केसी, शिव श्रेष्ठजस्ता चलिरहेको कलाकार भन्दा पनि नयाँ कलाकार लिएर एउटा परिवर्तन गरौं न भन्ने हिसाबले आयौं र वास्तवमा परिवर्तन पनि भयो’, छविराज भन्छन्, ‘त्यो बेला कृष्टिजीले चिनो र तिलहरिमा अभिनय गरिसक्नुभएको थियो । तिलहरि रिलिज भएको थियो भने चिनोको सुटिङ सकिएपछि हामीसँग काम गर्न आउनुभयो ।’

बजेट २० लाख, नाफा १० लाख

फिल्म निर्माण गर्दा निर्माता छविराज २४ वर्षको थिए । त्यसबेला फिल्मको सबै काम सकिँदा २० लाख रुपैयाँ खर्च भएको थियो । फिल्म निर्माणमा छविराजका काठमाडौंका केही साथीहरूले पनि सहयोग गरेका थिए ।

फिल्म बनेपछि उनले साथीहरूबाट लिइएको पैसा फिर्ता गरिदिए र फिल्मको व्यापारको जोखिमलाई ध्यान दिँदै केही निश्चित मार्जिन राखेर नेपाल वितरकलाई फिल्म बेचिदिए ।

फिल्म बेच्दा उनीहरूलाई १० लाख नाफा भयो । जसै फिल्म प्रदर्शनमा आयो, फिल्म सुपरडुपर हिट भयो । फिल्म पहिलोपटक बनेपाको मयुर हलमा रिलिज भयो । त्यहाँ ५१ दिन मनाएको दुई वर्षपछि काठमाडौंमा रिलिज भयो । काठमाडौंमा पनि फिल्म भयंकर नै चल्यो ।

किन चल्यो गीत

गीतकार थापाका अनुसार यो गीत त्रिकोणात्मक प्रेमभावमा लेखिएको थियो ।

‘मैले युगदेखि युगसम्म भन्दा पनि धेरै अगाडि गीत लेखेको थिएँ । उहाँलाई यो गीतको शब्द मनपरेपछि ‘तीन पाते डाँडा काटेर’लाई युगदेखि युगसम्म प्रयोग गर्न मिल्छ भनेर सोध्नुभयो । मैले प्रसंग मिल्छ भने त्यसलाई प्रयोग गर्दा हुन्छ भनें’, थापा भन्छन्, ‘फिल्ममा आइसकेपछि यो गीत लोकप्रिय हुन्छ भन्ने लागेको थियो । गीतमा प्रयोग भएका शब्दले पनि दर्शकलाई तान्यो ।’

संगीतकार बासकोटा गीतमा प्रयोग भएको शब्दले गीतको पपुलारिटीमा सघाएको दाबी गर्छन् ।

‘म प्रायः नेपाली मौलिक शब्दको प्रयोग गर्दछु । मैले अहिलेसम्म जति कलरफूल गीतहरूको कम्पोज गरें, त्यसमा मौलिक शब्दको प्रयोग बढी छन्’, शम्भुजित भन्छन्, ‘तीनपाते डाँडाको कुरा गर्दा यसमा प्रयोग भएका शब्द नौलो र मौलिक छ । सँगै गायिकाको गायकी, गीतको दृश्यांकन, कलाकारको अभिनयले पनि गीत चल्नमा सहयोग पुर्याएको छ ।’

प्रतिक्रिया