एकै वडाका चार महिला एउटै पदमा चुनाव लड्दै


गलेश्वर – यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको एक स्थानीय तहमा एकै वडाका चार महिलाले अलग अलग दलबाट एउटै पदमा उम्मेदवारी दिएकी छन् । बेनी नगरपालिकाको उपप्रमुखमा एउटै वडाका चार महिलाले उम्मेदवारी दिएकी हुन्।

उपप्रमुखमा मनोनयन दर्ता गराभएका अमृतदेवी बानियाँ, पशुपति शाही, ज्योति लामिछाने र मुना बानियाँ बेनी नगरपालिका–६ निवासी हुन् । बानियाँले नेपाली कांग्रेसबाट, शाहीले नेकपा (एमाले)बाट, लामिछानेले नेकपा (माओवादी केन्द्र) बाट र मुनाले नेकपा (एकीकृत समाजवादी)बाट उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसबाट उम्मेदवार बन्नुभएकी अमृतदेवी पार्टीको गण्डकी प्रदेश समिति सदस्य हुन् । विसं २०५४ मा वडा नम्बर ९ अर्थुङ्गेको वडासदस्यमा निर्वाचत हुँदै राजनीति सुरु गरेकी उनी कांग्रेसको दुई कार्यकाल जिल्ला सदस्य र दुई पटक महाधिवेशन प्रतिनिधि भइसकेकी छन् । साथी संस्था, लायन्स क्लब, महिला स्वयंसेविकालगायतमा रहेर उनले सामाजिक अभियन्ताको रुपमा काम गरिसकेकी छन् ।

एमालेबाट उम्मेदवार बनेकी शाही पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य तथा अखिल नेपाल महिला सङ्घको जिल्ला उपाध्यक्ष र अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष छन् । गाउँको सामुदायिक वन, विद्यालय व्यवस्थापन समिति, आमा समूहलगायत सङ्घसंस्थामा आबद्ध भई उनी सामाजिक कार्यमा क्रियाशील छन् ।

माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएकी लामिछाने पार्टीको प्रदेश कमिटी सदस्य हुन् । उनले अखिल क्रान्तिकारीबाट राजनीति सुरु गर्नुभएको हो । विसं २०६० देखि राजनीतिमा सक्रिय उहाँ हाल विभिन्न सङ्घसंस्थामा आबद्ध छन् । लामिछाने यसअघिको निर्वाचनमा उपप्रमुखमा ३४ मतले पराजित भएक थिइन् ।

एकीकृत समाजवादीकी उम्मेदवार मुना पार्टीको केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज थिइन् । विसं २०४८ देखि राजनीतिमा सक्रिय उनी यसअघि एमालेको प्रदेश कमिटी सदस्य थिइन् ।

प्रतिक्रिया