गठबन्धनका विद्यार्थी संगठको संयुक्त अपिल : साझा उम्मेदवारलाई विना सर्त मतदान गरौँ


काठमाडौं- सत्ता गठबन्धनमा आवद्ध दलका विद्यार्थी संगठनहरूले स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका साझा उमेदवारहरूलाई मतदान गर्न अपिल गरेका छन् । विद्यार्थी संगठनहरूले विज्ञप्ति जारी गर्दै नमिलेका ठाउँहरूमा अधिकतम लचकताका साथ सहमति निर्माण गर्न समेत आग्रह गरेका छन् ।

“मनोनयन समेत दर्ता भइसकेको वर्तमानको सन्दर्भमा, स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्रका साझा उमेदवारहरूलाई अत्याधिक मतका साथ हरेक स्थानीय तहमा विजय गराउन गठबन्धन विद्यार्थी संगठन आम अपिल गर्न चाहन्छ,” विद्यार्थी संगठनहरूले भनेका छन्, “कतिपय नमिलेका ठाउँहरूमा अधिकतम लचकताका साथ सहमति निर्माण गर्ने गरी प्रस्तुत हुन् र देशैभर गठबन्धन सम्बद्ध दलका उमेदवारहरूलाई विना शर्त र बडो मेहनतपूर्वक विजयी बनाउने अभियानमा एकताबद्ध र लामबद्ध हुन सम्पूर्ण विद्यार्थी, युवा जगत र आम परिवर्तन पक्षधर जनसमुदायमा संयुक्त विद्यार्थी संगठन जोडदार अपिल गर्दछ ।”

विज्ञप्ति जारी गर्नेमा नेपाली कांग्रेस निकट नेविसंघ अध्यक्ष डुजाङ शेर्पा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, जसपा निकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौँकका अध्यक्ष देवेन्द्र कुवँर छन् ।

प्रतिक्रिया