

काठमाडौं महानगरको मेयरमा गठबन्धनबाट सिर्जना सिंहको नाम पक्कापक्की

काठमाडौँ — आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा गठबन्धनबाट कांग्रेस नेतृ सिर्जना सिंह मेयरको उम्मेदवार बन्ने पक्कापक्की भएको छ । उम्मेदवार छान्न बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति जुटाएको हो ।
यसअघि महानगर कमिटीले सिंहसहित ५ जनाको नाम सिफारिस गरेको थियो । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवार छान्न बिहीबारदेखि पार्टीभित्र शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।
शुक्रबार राति पनि अबेरसम्म छलफल भएको थियो । बैठकमा काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति भएको बैठकमा सहभागी एक नेताले पुष्टि गरे । कांग्रेसकी महाधिवेशन प्रतिनिधि रहेकी सिंह नेता प्रकाशमान सिंहकी पत्नीसमेत हुन् ।
‘काठमाडौंमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति भयो, बाँकी महानगरपालिकाको हकमा सहमति हुन सकेको छैन, छलफल हुँदैछ,’ ती नेताले भने, ‘अहिले नौ बजेबाट फेरि छलफलमा जुट्दैछौँ ।’
उम्मेदवारको टुंगो लगाउन सभापति देउवाले विहान ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक राखेका छन् । बैठकअधि उम्मेदवारको नाम टुंगो लगाउने र बैठकमा अनुमोदनका लागि पेश गर्ने नेताहरूको तयारी छ ।

