आज साँझसम्म काठमाडौँ आइपुग्दैछन् अमेरिकी सांसदसहितको टोली, यस्तो छ कारण


काठमाडाैँ- चार जना अमेरिकी सिनेटर र एक जना सांसदको टोली शुक्रबार साँझ काठमाडौं आइपुग्ने भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावास स्रोतका अनुसार डेमोक्र्याटिक पार्टीका सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर, एड मार्की र तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स नेपाल आउँदैछन्।

अमेरिकी सिनेटरको टोलीले शनिबारदेखि नेपालमा राजनीतिक भेटघाट गर्नेछ।  यो सिनेटरको टोली नेपालसँगै पोल्यान्ड, युएई, भारत र जर्मनीको ९ दिने भ्रमणमा निस्किएको हो। रूसले युक्रेनमाथि आक्रमण गरेपछि युक्रेनका पक्षमा समर्थन जुटाउन उनीहरू भ्रमणमा निस्किएको बताइएको छ।

भारत र युएईले अहिलेसम्म युक्रेनमाथि भएको रूसी आक्रमणको विरोध गरेका छैनन्। परराष्ट्र मन्त्रालयका अनुसार अमेरिकी सिनेटरको टोली आइतबार नेपालबाट फर्किने कार्यक्रम छ। नेपालले युक्रेनमाथि रूसी आक्रमणको विरोध गरेको छ। यसबारे राष्ट्रसंघमा भएका सबै मतदानमा नेपाल युक्रेनको पक्षमा उभिएको छ। रूसलाई मानव अधिकार परिषद्को सदस्यबाट निलम्बन गर्न भएको मतदानमा भने नेपाल तटस्थ बसेको थियो।

केही दिनअघि दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी उपसहायक विदेश मन्त्री केली केइडरलिङले पनि नेपाल भ्रमण गरेकी थिइन्।अमेरिकी सहयोग परियोजना एमसिसी पारित हुनुअघि दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु काठमाडौं आउँदा केली पनि सँगै आएकी थिइन्।उनले गत सोमबार परराष्ट्र मन्त्री नारायण खड्कासँग शिष्टाचार भेट गरेकी थिइन्।

प्रतिक्रिया