कृषि गणनामा ८६ करोड खर्च हुने


काठमाडौं-  कृषि गणनाका लागि ८६ करोड खर्च हुने सरकारले अनुमान गरेको छ । वैशाख ६ गतेदेखि सुरु भएको कृषि गणना जेठ मसान्तसम्म चल्ने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । विभागले आज गरेको पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७७–७८ मा पाँच करोड खर्च भइसकेको छ भने चालु आर्थिक वर्ष २०७८–०७९ मा ७२ करोड खर्च हुने अनुमान गरिएको छ ।

त्यस्तै, अगामी आर्थिक वर्ष २०७९–०८० मा नौ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको विभागका निर्देशक डा. महेश सुवेदीले जानकारी गराए । विगतका कृषि गणनाहरूमा जिल्लास्तरीय कृषि तथ्यांक मात्र प्रकाशन गर्दै आएकोमा यसपटक ७५३ वटै पालिकाहरुको तथ्याङ्क संकलन गरिने उनले जानकारी गराए ।

वैज्ञानिक विधि प्रयोग गरी करिब ३ लाख ५० हजार कृषक परिवारहरु छनोट गरी कृषक परिवार प्रश्नावलीमार्फत कृषि तथा पशुपन्छी सम्बन्धी विवरण संकलन गरिने विभागले जनाएको छ । कृषि गणनाका लागि पाँच हजार १५० गणक, एकहजार ३५० सुपरीवेक्षक तथा ७७ जना कृषि गणना अधिकृतसहित सात हजार २०० कर्मचारी खटाइएको विभागले जनाएको छ ।

प्रतिक्रिया