
किन आउँदैछन् चार अमेरिकी सांसद नेपाल ?
काठमाडाैँ- संयुक्त राज्य अमेरिकाका चार जना सांसद शुक्रबार नेपाल भ्रमणमा आउने भएका छन्।सिनेटर कर्स्टन गिलिब्रान्डको नेतृत्वमा सिनेटर कोरी बुकर, सिनेटर मार्क केली र प्रतिनिधि सभा सदस्य मोन्डेअर जोन्स छन्। टोलीमा अमेरिकी विदेश मन्त्रालयका केही अधिकारी पनि रहने बताइएको छ।
सिनेटर कर्स्टनले गत निर्वाचनमा राष्ट्रपति पदमा उठ्ने घोषणा गरेकी थिइन्। तर, उनले पछि नउठ्ने निर्णय लिइन्। उनी न्युयोर्कलाई प्रतिनिधित्व गर्ने डेमोक्रयाटिक पार्टीकी प्रभावशाली सिनेटर हुन्। उनी दुई पटक न्युयोर्कबाट सिनेटर निर्वाचित भइसकेकी छन्।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अमेरिकी सांसदको टोली आइतबारसम्म नेपालमा रहनेछ। उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा। नारायण खड्का र जिभिन्न राजनीतिक दलका नेता र सांसदसँग भेटवार्ता गर्नेछन्।
अहिले दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उप–सहायक विदेशमन्त्री केली किडरलिङ नेपाल भ्रमणमा छिन्। उनले सोमबार परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेटवार्ता गरेकी छन्। मंगलबार उनी लुम्बिनी जानेछिन्। अमेरिकी उप—सहायक विदेशमन्त्री किडरलिङ भ्रमण सकेर फर्केको चार दिनपछि अमेरिकी सांसदको टोली नेपाल आइपुग्नेछ।
उनीहरू नेपालमा युक्रेन मामिलामा रूसविरूद्ध ऐक्यवद्धताका लागि नेपाल आउन लागेको बताइएको छ।



कागजपत्र |
