

न्यू एन्जल्स डान्सबार लुटको अखडाः बौद्धका डिएसपीको भेटियो संलग्नता !

काठमाडौं – राजधानीको रात्री जीवन रंगीन र रमाइलो बनाउने नाममा खुलेका अधिकांश डान्सबारहरू युवती देखाएर ग्राहक लुट्ने अखडा बनिरहेका छन्। हरेक रात डान्सबारले ग्राहकहरूलाई लुटेर प्रहरी हिरासतमा पुर्याइरहेको खबर बाहिर आउने गरेको छ।
बाहिर ३ सय पर्ने एक बोत्तल बियरलाई डान्सबारभित्र सात सय रुपैंयाँ तिर्न लगाएर ग्राहकलाई लुट्ने गरिन्छ। यसो नाच हेरेर मनोरञ्जन लिन जाऊँ भन्नेहरु अन्तिममा रित्तै फर्कनुपर्ने हुन्छ।
त्यतिमात्र होइन डान्सबारका केटीहरु झुम्मिएर मनोरन्जन लिन पुगेका ग्राहकहरुको पैसा समेत स्वाहा पारिदिने गर्दछन्। गत शनिबार राति राजकुमार स्यागंतानसहित चार जनाको टोली बौद्धस्थित न्यू एन्जल्स डान्सबारमा छिरेका थिए।
यसो एक दुईवटा बियर लिएर नाचेको मज्जा लिन उनीहरु के छिरेका थिए। बसेको एक घण्टाभित्र आइहाल्यो ६३ हजारको बिल। तर, त्यति बिल कसरी आयो ? जहाँ छोटो पहिरन लगाएकी युवतीहरु स्टेजमा हट नृत्य प्रस्तुत गर्दै टेबलमा ग्राहकसँग आउँदै पिउँदै बसिरहेका थिए। त्यहि युवतीहरुले खाएको बिल उनीहरुको नाममा जोडिएको थियो।
ती युवतीहरुले १८ सर्ट टकिला, २६ सर्ट वाइन र चुरोटहरु खाएको बिलमा देख्न सकिन्छ। जबकी राजकुमारको टोलीले डान्सबारमा ६ बोत्तल बियर र तीनवटा मात्र पानी खाएका थिए।
अनलाइनन्युज७ को सम्पर्कमा आएका राजकुमार भन्छन्, हामीले जम्मा ६ वटा बियर र तीन बोत्तल पानी खाएका थियौं। बिल माग्दा ६३ हजार ल्याइयो। जबकी हामीले कुनै केटीलाई समेत खुवाएको छैन।
त्यत्रो बिल देखेपछि डान्सबारबाट बाहिरिनुबाहेक उनीहरुसँग कुनै विकल्प थिएन। तर, डान्सबार सञ्चालकले उनीहरुलाई धम्क्याएर उल्टो प्रहरीलाई खबर गरे। लगत्तै महानगरीय प्रहरी वृत्त बौद्धको टोली राति १ बजे डान्सबार अगाडि पुग्यो।
तत्कालै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर साढे १ बजे राति बौद्ध वृत्तमा लग्यो। सो दिन उनीहरुलाई प्रहरीले छाड्ने कुनै तर्खर देखाएन्। प्रहरीले समेत खाने खाने अनि बिल नतिर्ने भन्दै उनीहरुलाई पैसा तिर्न दबाब दिइरह्यो।
भोलिपल्ट बिहान बौद्ध वृत्तका प्रमुख रहेका नायब उपरीक्षक (डिएसपी) ढुण्डीराज न्यौपानेले उनीहरुलाई आफ्नो कार्यकक्षमा बोलाए। डिएसपीले बोलाएपछि उनीहरुले सोचे, केही राहत होला। तर, त्यहाँ पनि त्यस्तो भएन। डिएसपीले समेत उल्टो उनीहरुलाई ६३ हजार रुपैयाँ तिर्न दबाब दिए। पैसा नतिरे तिमीहरुलाई जेलमै सडाइदिन्छु भन्दै धम्की दिए। तर, उनीहरुले आफूहरुले त्यत्रो बिल उठ्नेगरी केही पनि नखाएको गुनासो पोखे। तर, डिएसपीले कुरै सुन्न चाहेनन्।
केटीहरुलाई टकिला सर्ट र वाइन खुवाएर डान्सबार सञ्चालकले उनीहरुलाई फसाउने नियत गरेकोमा बौद्ध वृत्तका डिएसपी न्यौपानेको समेत संलग्नता देखिएपछि प्रहरी संगठनको बद्नाम हुँदै गएको छ।
पीडितको कुरा नसुनेका डिएसपी न्यौपानेको कारण काठमाडौं प्रहरीमाथि प्रश्नचिन्ह खडा भएको छ। डान्सबार छिरेका चारैजना डइभर र खलासी काम गर्ने गर्छन्। प्रहरीको सहयोगमा ३० हजार रुपैयाँ नगद समेत लुटिएको उनीहरु बताउँछन्।
किन आँखा चिम्लिन्छ प्रहरी ?
डान्सबारमा भइरहेको लुटपाटमाथि प्रहरीले खासै ध्यान नदिने गरेको स्वयं प्रहरीकै कर्मचारी बताउँछन्। डान्सबारमा दिनहुँ झगडा हुने थाहा हुँदाहुँदै पनि उनीहरू त्यसमा खासै गम्भीर हुँदैनन्।
कतिपय डान्सबारले महिनावारी रकम दिएर प्रहरीलाई आफ्नो पकडमा राख्ने गरेको समेत प्रहरीमाथि आरोप लाग्ने गरेको छ। न्यू एन्जल्स डान्सबारको घटना समेत प्रहरीले महिनावारी खाएरै उल्टो पीडितलाई दबाब दिएको कुरामा दुईमत छैन।
बढी बिल तिराउन खोज्ने डान्सबारका कर्मचारीलाई पक्राउ गरेर मुद्दा चलाउनुपर्नेमा बौद्ध प्रहरीले उल्टो पीडितलाई दुई दिनसम्म हिरासतमा राखेर पीडा दिनु कतिसम्मको न्यायसंगत हो ?
प्रहरीहरुकै लापरवाही र मिलेमतोले गर्दा डान्सबारमा धेरै विकृतिहरु देखिएका छन्। बौद्ध प्रहरीले पीडितलाई न्याय नदिँदा शनिबार रातिको घटना हुन पुगेको बुझ्न सकिन्छ।

