कैलालीको अर्जुन दासको हत्या आरोपमा ४ जना पक्राउ


काठमाडौं – कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा प्रहरीले फरार रहेका ४ जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा टेकुका अनुसार पक्राउ पर्ने ४ जनामा जानकी गाउँपालिका ९ कै १९ वर्षीय युवाहरु सुमित साउद, मनोज भण्डारी, दिलीप दास र बमबहादुर बोहोरा रहेका छन् ।

उनीहरुको समूहले दासलाई मोबाइल चोरी गरेको आरोपमा लागूऔषध सेवन गरेको अवस्थामा हत्या गरेको महाशाखाले जनाएको छ ।

प्रहरीका अनुसार हत्या गरी उनीहरू भारत गएर लुकेर बसेका थिए। काम खोज्न भैरहवा आएका उनीहरूलाई रुपन्देही सिमानाकाबाट गोप्य सूचनाका आधारमा महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले उनीहरुलाई हिजो (बिहीबार) पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धानका लागि कैलाली जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।

गत वर्ष पुस २ गते घरबाट निस्केका जानकी गाउँपालिका–९ अमरावतीका अर्जुन रातिसम्म घर फर्केका थिएनन् । वनमा घाँस काट्न गएका महिलाले रुखमा बाँधेर टाउको काटिएको अवस्थामा पुस ३ गते शनिबार अमरावती सामुदायिक वनमा उनको शव भेटाएका थिए ।

दोषी पक्राउ नपरेसम्म शव नउठाउने भन्दै आन्दोलन गर्दै आएका आफन्तहरूले गाउँपालिका अध्यक्ष प्रदीप चौधरी र जिल्ला प्रहरी प्रशासनसँग छलफलपछि १० दिनपछि मात्रै उनको शव अन्त्येष्टि गरेका थिए ।

प्रतिक्रिया