

देशको अर्थतन्त्रमा सुधार हुन्छ, हतोत्साहित हुनुपर्दैनः चन्द्र ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्रमा सुधार हुने भन्दै हतोत्साहित नहुन आग्रह गरेका छन्। महासंघको ५६औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको धन्यवाद मन्तव्य व्यक्त गर्दै उनले देश श्रीलंका बन्छ कि भनेर आत्तिनु नपर्ने बताएका हुन् । सबै मिलेर देशको अर्थतन्त्र सुधारमा ध्यान दिनुपर्ने बताए।
‘एक अर्कालाई गाली नगरौं। महासंघको पदाधिकारी, कार्यकारिणी समिति सदस्य लगायत सम्पूर्ण सदस्यहरु हामी जिम्मेवार नागरिक हौं। हाम्रो भनाइको अर्थ रहन्छ। सबै मिलेर संकट समाधानका लागि पहल गर्नुपर्छ’, ढकालले भने। उनले देशको अर्थतन्त्रमा सुधार हुने भन्दै हतोत्साहित नहुने आग्रह गरे।
चालु आर्थिक वर्षको सुरुदेखि अर्थतन्त्रमा अभूतपूर्व सुधार देखिएको उनले स्मरण गरे। अत्यधिक मागलाई नेपालको वित्तीय क्षेत्रले धेरै समय थेग्न नसकेको उनको भनाइ छ।
‘स्वाभाविक रुपमा कर्जा प्रवाह बढ्यो। माग हुँदा आयात बढ्नु पनि स्वाभाविक थियो। रेमिट्यान्स आप्रवाहमा केही कमी आयो। यसले भुक्तानी सन्तुलनमा चाप परेको छ’, ढकालले भने, ‘विदेशी मुद्राको सञ्चिति साढे ६ महिनाको आयात धान्न पर्याप्त छ। अबका दिनमा रकम सकिने मात्रै होइन, रकम आप्रवाह पनि त हुन्छ नि।’
अलिकति सरकारका तर्फबाट गर्नुपर्ने सहयोग हुन सक्यो भने मुलुक छिटो आर्थिक मार्गमा अगाडि ढकालको भनाइ छ।

