गगन थापाले पनि गरे गभर्नर निलम्बनको विरोध, सरकारसँग जवाफ माग्ने तयारी


काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गभर्नर निलम्बन निर्णयको विरोध गरेका छन्। गभर्नर प्रकरणमा सरकारले गल्ती गरेको उनको भनाइ छ। थापाले अर्थतन्त्र समस्याग्रस्त भएका बेला साझेदारी गरेर जानुपर्ने बेलामा गभर्नर निलम्बनको निर्णय गर्नु उपयुक्त नभएको बताए।

‘संगीन आरोपहरु छन्। छानविन समिति पनि बनेको छ,’ ग्यालेक्सी फोरकेको अन्तर्वार्तामा उनले भने, ‘तर म एउटा सचेत नागरिक, राजनीतिक कार्यकर्ताको प्रथम दृष्टिमा यो सही छैन। मैले यसलाई सही भन्न सक्दिनँ।’

उनले सरकारले अनावश्यक रुपमा प्रतिपक्षलाई मसला दिएको टिप्पणी गरे। नेकपा एमालेले अफ्ठेरो परिस्थितिमा आगोमा घ्यू थप्ने काम गरेको उनको आरोप छ।

‘हामी अहिलेजस्तो अवस्थामा छौं, जुन अवस्थाबाट गुज्ररहेका छौं, यो बेला त हाम्रो बीचमा साझेदारी चाहिन्छ। राष्ट्र बैंकले आफ्नो जिम्मेवारी, अर्थ मन्त्रालयले आफ्नो जिम्मेवारीहरु छ,’ उनले भने, ‘सबै कुरालाई हेरेर सचेतकतापूर्वक सतर्क भएर काम गर्नुपर्ने बेलामा हामीले अनावश्यक रुपमा कपाल दुखाउने काम गरेका छौं। हामीले अनावश्यक रुपमा मसला दिएका छौं। मैले यसको औचित्य के भनेर बुझ्न सकेको छैन।’

उनले अर्थतन्त्र कुनै व्यक्तिले विगार्ने र सपार्ने भन्दा पनि संरचनागत समस्या भएको बताए। ‘अमुकको व्यक्तिले विगार्ने र सपार्ने भन्दा पनि संरचनागत समस्या हो। कति हाम्रो नियन्त्रणमा कति हाम्रो नियन्त्रण बाहिर छ,’ उनले भने, ‘ तर जुन तदारुकता पहलकदमीको लागि जुन तदारुकता चाहिने त्यो देखेका छैनौं। मैले अर्थमन्त्रीकै अगाडि भनेको हो। सोध्ने र सुझाव दिएर सच्याउन लाग्ने भन्ने थियो। बृहत्तर छलफल गर्ने भनेका बेला एकाएक गभर्नर निलम्बन गरियो। यो किन गरियो? यसको जवाफ अर्थमन्त्री र प्रधानमन्त्रीले दिनुपर्छ। सरकारले दिनुपर्छ।’

गभर्नर निलम्बनमा प्रधानमन्त्रीले हस्तक्षेप गर्न सक्ने भएपछि त्यो किन नगरेको भनेर प्रश्न गरे। यो प्रश्न आफूले प्रधानमन्त्रीलाई भेटेर राख्ने र जवाफ माग्ने उनको भनाइ छ।

‘अर्थतन्त्रमा देखिएका समस्याबारे पार्टीका तर्फबाट छलफल गर्न चाहिरहेका छौं । तयारी गरेर बसेको छु। छलफल गर्न भनिरहेका बेला यस्तो निर्णय गरियो,’ उनले भने।

प्रतिक्रिया