बिस्केट जात्रामा किन भयो ढुंगा हानाहान ?


भक्तपुर- नयाँ वर्षको आगमनसँगै सुरु भएको तान्त्रिक विधिबाट मनाइने भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको लिच्छवीकालीन बिस्का जात्रामा ढुंगा हानाहान भएको छ।

नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिनसम्म सञ्चालन हुने बिस्का जात्राको पहिलो दिन आइतबार ढुङ्गा हानाहान भएको हो। भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गरेको बिस्का जात्राको पहिलो दिन आइतबार भैरव र भद्रकालीको पूजा गरेपछि साँझबाट भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु भएको थियो।

आइतबार साँझ तौमढी (पाँचतले मन्दिर) अगाडिबाट भैरवको रथ तान्न सुरु भएको थियो। तौमढीबाट माथि र तलका बासिन्दाबीच रथ तानातान गर्ने क्रममा रथ गहिँटी पुगेर घरमा ठोक्किएर रोकिएपछि तल्लो र माथिल्लो दुवै तर्फबाट ढुङ्गा हानाहान भएको हो। स्थानीय रामकृष्ण श्रेष्ठले गहिँटीमा पुगेर रथ घरमा ठोक्किएको केही बेरमै ढङ्गा हानाहान भएको तर प्रहरीले हस्तक्षेप भने नगरेको बताए।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले रथ तान्ने क्रममा गहिँटी पुगेर घरमा ठोक्किएपछि ढुङ्गा हानाहान भएको जानकारी दिए। स्थिति सामान्य हुँदै गएको दाबी गर्दै उनले घाइतेको विवरण र जानकारी भने नआएको बताए।

प्रहरीले जात्रामा शान्ति सुरक्षाका लागि भन्दै उपत्यकाका तीनवटै जिल्लाका नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी एक हजार ४५० सुरक्षाकर्मी परिचालन गरेको छ। प्रहरीले जात्रामा हस्तक्षेप गर्दा जात्रा हिंसामा परिणत हुन सक्ने भएपछि हस्तक्षेप नगरेको जनाएको छ।

प्रतिक्रिया