

काठमाडौं उपत्यकामा बढ्यो सार्वजनिक सवारी साधनको भाडा

काठमाडौं – काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले भाडादर समायोजन गरेको हो । श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री स्तरीय निर्णयअनुसार यातायात व्यवस्था विभागले लामो दूरीको भाडा समायोजन गरेको एक सातामा नै बाग्मती प्रदेश सरकारले पनि प्रदेशभित्र सञ्चाल नहुने छोटो दूरीका सवारी साधनको भाडा वृद्धि गरेको हो ।
बाग्मती प्रदेश सरकारअन्तर्गतको श्रम, रोजगार तथायातायात मन्त्रालयले आगामी १ वैशाख अर्थात् नयाँ वर्षदेखि लागू हुनेगरी प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीका सवारी साधनको भाडा वृद्धि गरेको हो । अब पेट्रोलियम पदार्थको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढी वा घटी भएमा सोहीबमोजिम सवारी साधनको भाडा समायोजन गरिने प्रदेश सरकारले जनाएको छ ।
समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ । नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ ।
यस्तै, ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १।२० रुपैया तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।

