श्रीलंकाको आर्थिक संकट व्यवस्थापन गर्न करिब ३ अर्ब डलर आवश्यक


काठमाडौं – श्रीलंकाको आर्थिक संकट व्यवस्थापन गर्न करिब ३ अर्ब डलर आवश्यक पर्ने बताईएको छ । समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार अर्थमन्त्री साब्रीले इन्धन र औषधिको आपूर्तिलाई व्यवस्थित गर्न र अभूतपूर्व आर्थिक संकट व्यवस्थापन गर्न आगामी ६ महिनामा करिब ३ अर्ब डलर आवश्यक पर्ने बताएका छन् ।

साब्रीले गत हप्तामात्रै श्रीलंकाको अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । अर्थमन्त्रीका रुपमा आफ्नो पहिलो अन्तर्वार्तामा साब्रीले ३ बिलियन डलरको कोष जुटाउने विषयमा भनेका थिए, ‘यो गाह्रो काम हो ।’ श्रीलंका सरकारको प्राथमिकता इन्धन, ग्यास, औषधि र त्यसपछि विद्युतको सामान्य आपूर्ति सुरु गर्नु रहेको साब्री बताउँछन्। यसको उद्देश्य जनताको आक्रोशलाई शान्त पार्नु हो।

श्रीलंकाको आर्थिक संकटमा यतिबेला विश्वको ध्यान केन्द्रित रहेको छ । श्रीलंकामा अहिले इन्धन र औषधिको चरम अभाव भएको छ । अन्य अत्यावश्यक वस्तुको मूल्य आकाशिएको छ ।  आर्थिक संकटका कारण श्रीलंकाको राजनीतिमा धेरै उथलपुथल भइरहेको छ ।

नवनियुक्त अर्थमन्त्री अली साब्रीले देशको अवस्था सुधार्न केही महत्वपूर्ण विषयमा विशेष ध्यान दिन जरुरी रहेको औँल्याएका छन् । लामो समयसम्म विद्युत् कटौती र औषधि र इन्धनको अभावका कारण श्रीलंकाका २२ करोड जनता आक्रोशित छन्। आक्रोशित जनताले राष्ट्रपति गोताभाया राजापक्षेको राजीनामा माग गर्दै प्रदर्शन गरिरहेका छन्।

 

प्रतिक्रिया