दीपक बिष्ट र आयशा शाक्य: आलोचना र सङ्घर्षबाट माथि उठेको सबैभन्दा सफल खेलाडी जोडी


काठमाडौं– आलोचनाको पहाडलाई स्वर्ण पदकको सफलताले चिरेको दीपक बिष्ट र आयशा शाक्यको जोडी तेक्वान्दो कर्ममा अझै निरन्तर अगाडि लम्किने दृढतामा छ।

घरको सहमतिबिना भागेर विवाह गर्दा २४ वर्षीया आयशा खेल जीवनको उच्च विन्दुमा थिइन्, दीपक भने खेलाडी जीवनको अन्त्यतिर।

विवाहमा दीपकले भनेका थिए, ‘विवाहले तिम्रो खेल जीवनमा पूर्णविराम लाग्ने छैन। तिमी जतिसम्म सक्छौ खेल करिअर अगाडि बढाऊ, म तिमीलाई साथ दिनेछु।’

विवाह भएको १० वर्ष पुग्नै लागिसक्यो, दीपकले आफ्नो वाचा निभाइरहेका छन्। तेक्वान्दो म्याटमा प्रशिक्षकका रूपमा, घरमा दुई बच्चाका बुबा अनि पतिका रूपमा र खेल राजनीति बुझेकाले अभिभावकका रूपमा उनले आयशाको खेल जीवनलाई हरतरहले सहज बनाइदिएका छन्।

आयशाले पनि आफूलाई तेक्वान्दोमा समर्पित मात्र गरेकी छैनन् अब्बल प्रमाणित गरिरहेकी छिन्। पहिलो बच्चा जन्मेको १४ महिनामै उनी देशको प्रतिनिधित्व गरी एशियाली खेलकुद खेल्न पुगिन्। दीपकले बच्चा सम्हाल्ने ड्युटी निभाए।

‘बच्चा रोइरहेको हुन्थ्यो, तर खेलिरहेको छ चिन्ता नलेऊ भनेर दीपकले मक्ख पारिदिन्थे’, आयशा सम्झिन्छिन्। सन् २०१६ को १२ औँ दक्षिण एशियाली खेलमा फाइनल पुगेर आयशा स्वर्ण जित्न चुकिन्। धेरै दिन रोइन्। आँसु पुछ्न दीपक जहिले आँखा अगाडि उभिइदिए।

एउटा महिलाको लागि विवाह पछिको जीवन परिवर्तन हुने नै भयो। एउटा स्वतन्त्र छोरी अब श्रीमती, बुहारी हुँदै आमा बनिन्। आमाको शरीर पहिले जस्तो हुने भएन। त्यसमा पनि मार्शल आर्ट्स जस्तो बलियो शरीर आवश्यक पर्ने खेलमा।

दोस्रो छोरा पाएपछि त आफन्तहरूले नै भन्न थालेको वाक्य आयशा सम्झिन्छन्, ‘छोराहरू स्याहार्न छोडेर आमा किन खेल्न दौडिरहेको होला?’

आयशा भन्छिन्, ‘बिहेपछि शारीरिक रूपमा तन्दुरुस्त रहने चुनौती त छँदैछ, त्योभन्दा मानसिक तनाव बढी हुने। बच्चा छोडेर हिँड्नुपर्ने, अनि त्यो पीडाको हिसाब त खै कसरी भन्ने।’

प्रशासनिक र कहिँकतै राजनीति गर्नुपर्ने काम आइलागे त्यो पूरा गर्ने जिम्मा दीपकको हुन्थ्यो। भर्खरै नेपाल तेक्वान्दो संघबाट राजीनामा दिएका दीपक त्यसमा खप्पिस पनि मानिन्छन्।

यी तमाम परिस्थितिसँग जुझ्दै र अप्ठेरो पन्छाउँदै यी जोडी तेक्वान्दोमा लुटपुटिँदै गयो। तर १३ औँ दक्षिण एशियाली खेलकुद सागमा त यिनीहरूले एउटा ठूलो पहाड जस्तै आरोप सामना गर्नुपयरेको थियो।

आयशाले १२ औँ सागमा फाइनलमा पराजित भएपछि र दोस्रो छोरा जन्मिएपछि ग्यारोगी अर्थात् फाइट विधा परिवर्तन गरेर पुम्से विधा (प्रदर्शनी खेल) मा आफूलाई ढालिन्।

काठमाडौंमा भएको १३ औँ सागमा पहिलो पटक पुम्से विधा राखियो। तर आयशाले उक्त विधाको छनोट खेल खेल्नै परेन किनकि २९ वर्ष माथिको तौल समूहमा प्रतिस्पर्धी नै भएनन्।

यही बुँदामा दीपक– आयशाको खूबै आलोचना भएको देखियो। तेक्वान्दो परिवारभित्र र बाहिर दीपकले आफ्नो श्रीमतीको लागि हुँदै नभएको विधा थपेको सुनिएको थियो।

दीपक त्यति बेला सागका सात जना तेक्वान्दो प्रशिक्षकमध्ये एक थिए र नेपाल तेक्वान्दो सङ्घका सचिव पनि थिए।

आरोपले आयशालाई बढी चोट दियो। उनको क्षमता र प्रतिभाको नराम्ररी अवमूल्यन भएको थियो। उनी सम्झिन्छिन्, ‘कुरा काट्ने र आलोचना गर्नेको लहर नै रहेछ। यसले मलाई नमज्जाको चोट दियो। तर क्षणिक समयको लागि मात्र। बरु यसले मलाई स्वर्ण पदक जित्ने दरिलो ईख जन्माइदियो।’

अनि आयशाले मेहनत गर्न थालिन्। पहिले भन्दा बढी र अझ दृढ सङ्कल्पसहित। आयशा तेक्वान्दोका चानचुन पात्र होइनन्। १३ वर्ष अगाडि सन् २००६ मा उनले दोहामा भएको एशियाली खेलकुदमा कांस्य जितेर उनले आफूलाई एशियाली स्तरमा प्रमाणित गरिसकेकी थिइन्।

अनि लगातार पछिल्लो तीन वटा साग खेलेर उनले आफ्नो पोल्टामा एक स्वर्ण र दुई रजत हात पारिसकेकी थिइन्। आलोचनाले उनी केही समय धरमराइन् तर आफैले आफैलाई सम्हालिन्। भन्छिन्, ‘मेरो क्षमता मलाई थाहा छ। मेरो शरीरले कति खेल्न सक्छ म बुझ्छु। विगतमा कति कडा परीक्षा पार गरिसकेकी छु। भनेपछि म सक्छु, म गरेरै देखाउँछु। यसरी मैले आफूले आफूमा विश्वास जन्माए।’ दीपकको साथ त छँदै थियो।

अनि जब आयशाले सागमा स्वर्ण जितिन्। एउटा होइन दुई–दुई स्वर्ण जितेर इतिहास रचिन्, उनी पतिसँग अँगालो हाल्दै खेलस्थलमै निकै बेर रोइन्। उनले सम्पूर्ण आलोचनाको जवाफ दिइसकेकी थिइन्।

दीपकले एक वर्षपछि गुम्सिएको मन फुकाए, ‘स्वर्ण पदकले सबै आलोचनाहरू हराए। त्यो नभएको भए मलाई पनि गार्हो हुने थियो। आफ्नै समाजबाट र आफ्नै परिवारबाट समेत। तर मलाई आयशामा विश्वास थियो।’

रैकवार, विचुवाकी दीपक र पाटनकी आयशा नेपालका सबैभन्दा सफल खेलाडी जोडी हुन्।

दीपकले सागमा चार स्वर्ण जितेका छन् भने आयशाको पनि स्वर्ण सङ्ख्या तीन पुग्यो। एउटै परिवारको कोठामा सजिएको यो सबैभन्दा धेरै स्वर्ण संख््या हो।

सन् २००६ मा दोहा एशियाडमा पनि दुवैले सँगै कांस्य जितेका थिए। यति धेरै सफलता नेपाली खेलकुद क्षेत्रमा अरू कसैले जितेको छैन। तेक्वान्दोमा लामो समय छाउँदा यी जोडीको आलोचकहरू बढ्नु अस्वाभाविक पनि होइन।

तर सागको सफलता पछि आयशा झन् हौसिएकी छिन्। सङ्घर्ष गर्न र आलोचना सुन्ने उनलाई बानी परिसकेकी उनले नयाँ लक्ष्य बनाएकी छिन्।

उनी भन्छिन्, ‘राष्ट्रिय धुन बज्दा शरीरभरि रौँ उम्रिने क्षण जीवनमा पटकपटक दोहोर्याउने इच्छा छ। शरीरले साथ दिएसम्म यो यात्रा निरन्तर रहनेछ।’ अनि दीपकले बिहेमा गरेको वाचा बिर्सिने कुरै भएन।

(निरञ्जन राजवंशीले बीबीसी नेपालीका लागि लेखेको रिपोर्ट साभार)

प्रतिक्रिया