

गृहमन्त्रीको ‘इन्ट्रेष्ट’ले प्रहरी संगठन लथालिङ्ग !
इन्स्पेक्टर सरुवामा आईजी क्षेत्रीले लिन सकेनन् अडान

काठमाडौं – आफ्नो खल्तीमा भएको पैसा वा सामान आफूलाई मन लागेको बेला जुनसुकै समयमा निकाल्न वा प्रयोग गर्न पाइन्छ। उक्त खल्तीमा कसैको दाबी हुन्न।
माथिको उदाहरण नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल गृहमन्त्रीको खल्ती साबित भएको छ। देशका तीन करोड जनताको सुरक्षामा खटिने संगठनका कर्मचारीलाई गृहमन्त्रीले आफ्नो खल्तीको सामान जस्तै सम्झिने गरेका छन्।
जतिबेला मन लाग्यो त्यतिबेला गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीहरुलाई चलाउने गरेका छन्। उनको कारण यतिबेला दुवै संगठन लथालिङ्ग अवस्थामा पुगेको छ।
गृहमन्त्री खाणको ठाडो हस्तक्षेप हुन थालेपछि पछिल्लो समय नेपाल प्रहरी र सशस्त्र प्रहरीको हरेक गतिविधि अस्तव्यस्त बनेको छ। गृहमन्त्री खाणले सिपाहीदेखि प्रहरी उपरीक्षक (एसपी)को सरुवा÷बढुवामा आफ्नो ‘इन्ट्रेष्ट’ राख्न थालेपछि दुवै सुरक्षा निकाय पंगु भएको हो।
दुवै संगठनका प्रहरी महानिरीक्षक (आईजी)ले गरेको सरुवा/बढुवाको प्रस्तावलाई उनले ठाडै रोक्ने गरेका छन्। तर, गृहमन्त्री खाणको निर्देशनपछि नियमित सरुवा रोकेर धमाधम काज निकाल्न बाध्य छन् दुवै संगठन प्रमुख।
गृहमन्त्री खाणको कारण सशस्त्र प्रहरीमा बढुवाको जाम लागेको छ। २०६२ साल फागुनमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना भएकाहरु अहिलेसम्म बढुवा हुन सकेका छैनन्। तर, २०७० मा नेपाल प्रहरीको इन्स्पेक्टरमा जागिर खाएकाहरु अब प्रहरी नायब उपरीक्षक (डिएसपी) हुनेछन्।
कारण हो गृहमन्त्री खाणको ‘इन्ट्रेष्ट’। आफ्नो मान्छेहरु बढुवामा छुट्ने देखेपछि खाणले बढुवा नै रोकेको आरोप छ। यसको असर पछिल्लो ३÷४ वर्षसम्म पर्ने सुरक्षाविज्ञहरु बताउँछन्।
१६/१७ वर्षसम्म एउटै पदमा रहेका इन्स्पेक्टरहरु डिएसपी बढुवाका स्वाभाविक आकांक्षी हुन्। जबकी सशस्त्र प्रहरीमा डिएसपीको पद खाली नै छ। तर, पनि गृहमन्त्री खाणले नचाहँदा डिएसपीका आकांक्षीहरु निराश बन्न पुगेका छन्।
नेपाल प्रहरीमा सरुवा, बढुवादेखि पदस्थापनसम्म हावी हुने गरेका गृहमन्त्री खाणले कतिसम्म गरे भने, एकजना इन्स्पेक्टरको सरुवामा समेत उनको सिधा दबाब पर्यो। केही विचौलिका कारण गृहमन्त्रीले एकजना इन्स्पेक्टरको सरुवा गरेको स्रोतको दाबी छ।
गृहमन्त्री खाणकै ठाडो आदेशमा सशस्त्र प्रहरी हेडक्वार्टरले गत साउन १८ गते इन्स्पेक्टर कृष्ण अर्यालको एकल काज सरुवा निकालेको थियो (पत्र संख्या २०९)।
उनलाई पठाउन खोजिएको रुपन्देहीको डण्डा बोर्डर आउट पोस्ट (बीओपी) मा रहेका इन्स्पेक्टर विजय थापाको एक वर्ष नपुग्दै सरुवा गरेर उनको ठाउँमा अर्याललाई जिम्मेवारी दिइयो।
सशस्त्रमा सामान्यतया काज सरुवा निकाल्ने अभ्यास छैन। त्यसमा पनि इन्स्पेक्टरको एकल काज सरुवा पाउने सम्भवतः अर्याल नै पहिलो हुन्। अर्यालको काज सरुवा अझ यस्तो ठाउँमा निकालियो जसलाई सशस्त्रकै प्रहरी अधिकारीहरु आकर्षक कमाई हुने ठाउँ भन्छन्। गृहमन्त्री खाणले आफ्नै गृहजिल्ला रुपन्देहीको डण्डा बोर्डर आउट पोष्ट (बीओपी) मा लैजान यतिसम्म गरेका थिए।
त्यस्तै नेपाल प्रहरीमा गृहमन्त्री खाणको झनै चर्को ‘इन्ट्रेष्ट’ छ। पछिल्लो समय उनले आफ्नो मान्छेहरुलाई राम्रो–राम्रो ठाउँमा इन्चार्ज बनाएर पठाएका छन्। उनले आफ्नो खल्तीबाट सामान निकालेर दिएजस्तो भटाभट आफ्नो मान्छेहरुलाई इन्चार्ज पठाइरहेका छन्।
गृहमन्त्री खाणको इन्ट्रेष्टमा निस्किने सरुवा बढुवाको सूची हेर्ने हो भने धेरै प्रहरी अधिकारीहरु अन्यायमा पर्ने गरेका छन्। जसको चौतर्फी विरोध हुँदासमेत गृहमन्त्री खाण कुनै प्रतिक्रिया नदिई बस्ने गर्छन्।
गृह प्रशासन कुशलतापूर्वक हाँक्ने अपेक्षा गरिएका खाणले २०७८ कात्तिक १० मा अवधि नै नपुगीकन काठमाडौँका तत्कालीन प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहलाई हटाएर सुदीप गिरीलाई पठाउने निर्णय गरेका थिए। तर, प्रधानमन्त्रीले सो निर्णय कार्यान्वयन हुन दिएनन्। सो निर्णय दुई महिना रोकियो।
गृहमन्त्रालय अन्तर्गत जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवामा समेत गृहमन्त्री खाणले हस्तक्षेप गर्ने गरेका छन्। सरुवा/बढुवामा चरम राजनीतिक हस्तक्षेप छ भन्ने राम्रोसँग बुझेका गृहमन्त्रीले आफू निकटबाट आउने सरुवा बढुवाको प्रस्तावलाई अस्वीकार गर्न सक्दैनन्।
आफ्नो खल्तीबाट निकालेर फुत्त दिए जसरी आफ्नो मान्छेको सरुवा, बढुवा र पदस्थापना गर्ने गरेका छन्। तीन करोड जनताको सुरक्षामा खटाउनको लागि सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल खडा गरेको हो। कुनै नेताको चाकडी गर्नको लागि होइन।
नेपाल प्रहरीमा इन्स्पेक्टर सरुवा किन रोकियो ?
२०७७ असोजमा ४०० भन्दा बढी इन्स्पेक्टरहरुको सरुवा भएको थियो। त्यसयता १९ महिनादेखि इन्स्पेक्टरहरुको सरुवा निस्केको छैन। जबकी यो बीचमा गृहमन्त्री खाणको इन्ट्रेष्टमा दर्जनौं इन्स्पेक्टरहरुको काज सरुवा निस्कियो। तर, पनि नियमित सरुवा भने हुन सकेन्।
यसको कारण पनि गृहमन्त्री खाण नै हुन्। यता प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीले अडान लिन नसक्दा इन्स्पेक्टरहरुको सरुवा रोकिएको प्रधान कार्यालय स्रोत बताउँछ। एक वर्षमा नियमित सरुवा हुनुपर्ने भए पनि उनीहरू १९ महिनादेखि एकै ठाउँमा कार्यरत छन्।
एक हजारभन्दा बढी इन्स्पेक्टरहरु सरुवाको पर्खाइमा छन्। तर, आईजी क्षेत्रीले अडान लिन नसक्दा सरुवा हुन नसकेको हो। आईजी क्षेत्री गृहमन्त्री खाणको ‘ग्रिन सिग्नल’ कुरेर बसेक स्रोतले बतायो।
आईजी थापाले गृहमन्त्री खाणको निर्देशनबेगर एउटा सिपाहीको समेत सरुवा गर्न नसक्ने प्रधान कार्यालयका एक उच्च प्रहरी अधिकृतले बताए। जबकी सिपाहीदेखि एसपीसम्मको सरुवा गर्ने अधिकार संगठन प्रमुखलाई हुन्छ।
तर, आईजी क्षेत्रीले राम्रोसँग अडान लिन नसक्दा धेरै प्रहरी कर्मचारीहरुले अन्याय पाएका छन्।

