५० करोड किर्ते काण्ड : केबलप्रताप राणालाई सीआईबीले समात्यो 


काठमाडौं– किर्ते काण्ड गर्दै कमलादेवी राजभण्डारीको ५० करोडको जग्गा हडप्ने मुख्य योजना बनाउने केबल प्रतापजंग बहादुर राणालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।

पर्साको बीरगञ्ज महानगरपालिका –५ मा कित्ता नं. ३, ७१, १४३ र १८६ को पाँच कठ्ठा, पन्ध्र धुर, नौ कन्वामा बनेको घर समेतको जग्गा मुकेश राजभण्डारीले मालपोत कार्यालयका कर्मचारीहसँग मिलेर वास्तविक जग्गा धनी तथा हकवाला समेतको हक मारी खाने नियत राखेको अनुसन्धानका क्रममा खुलेको थियो ।

मुकेशले उक्त सम्पत्ती १९ फागुन २०७६मा आफ्नो नाममा राजीनामा पास गराई बीरगञ्ज महानगरपालिका–४ का गिरधारी लाल अग्रवाललाई बिक्री गर्न ५० लाख बैना लिएको अवस्थामा पत्ता लागेको थियो ।

कागजात किर्ते गर्नेबिरुद्ध राजीव राजभण्डारीले लिखत र ठगी सम्बन्धी कसूर मुद्दामा सीआईबीमा उजुरी दिएपछि अनुसन्धान थालिएको थियो ।

‘यसरी आर्थिक विषयमा किर्ते गर्नेहरूलाई निगरानीमा राखी अनुसन्धान गरिएको थियो । जसमा सीआईबीलाई सफलता मिलेको छ’, सीआईबी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) सहकुल थापा भन्छन्,‘अनुसन्धानका प्रगति र कारबाहीका निम्ति सम्बन्धित व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।’

सीआईबीले अनुसन्धानको क्रममा ललितपुर महानगरपालिका–१३, कुसुन्ती स्थायी ठेगाना भएका बर्ष ३३ का केवल प्रतापजंग बहादुर राणाको संलग्नता पुष्टि गरेको थियो ।

उनले आफ्नो नाम मुकेशराज भण्डारी ललितपुर महानगरपालिका–३ कायम गरी जिल्ला प्रशासन कार्यालयललितपुरबाट ४७७३ नं. भएको किर्ते नागरिकताको प्रमाण–पत्र बनाएको अनुसन्धानका क्रममा खुलेको डिआइजी थापाले बताए ।

केवलप्रतापलाई काठमाडांै–७, रातोपुल साधना गल्लीस्थित डेराबाट २५ असोजमा पक्राउ गरी कारबाहीको प्रक्रिया बढाउन जिल्ला प्रहरी कार्यालय बीरगञ्ज पठाइएको हो ।

प्रतिक्रिया