कविता सुनुवार हत्या : साधारण झगडामा सहपाठीकाे हत्या, अभियुक्त सार्वजनिक


उदयपुर – उदयपुर जिल्लाको बेलका नगरपालिका-३ बुद्धचोकमा भएको बालिका कविता सुनुवार हत्यामा संलग्न आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया बालिका हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका भारतको सिक्किम राज्य बियुङ स्थायी घर भइ बेलका नगरपालिका- ३ बस्ने विनोद ढकाल र सोही वडाकी १७ वर्षीया नाबालिगलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको हो । ती नाबालिग कविताकी साथी हुन् ।

ढकाललाई ७ दिन र नाबालिगलाई उदयपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ । बुधबार पत्रकार सम्मेलनको क्रममा बालिका हत्यामा संलग्नलाई घटनाको सूचना पाएको दुई घण्टाभित्र संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए ।

दुईजनाले योजनाबद्ध ढंगले वियरको बोतल र ढुंगाले किचेर हत्या गरेको प्रहरीको भनाइ छ । विद्यालयमा भएको सामान्य झगडाको रिसिईबीको कारणले आरोपी नाबालिकाले नाताले दाजु पर्ने ढकालको सहयोग लिएर हत्या गरेको प्रहरीले जनाएको छ ।

एसईईको तयारी गरिरहेकी कविताको बिहान कोचिङ कक्षा लिन जाने क्रममा हिजो बाटोमा पर्ने जसोदा खोलामा हत्या गरिएको थियो ।

प्रतिक्रिया