विद्रोहीको आक्रमणमा परी कंगोमा ज्यान गुमाउने सेनाका सिपाहीको परिचय खुल्यो


काठमाडौं – शान्ति मिसनको शिलशिलामा कंगोमा ज्यान गुमाएका नेपाली सेनाको परिचय खुलेको छ । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तर्गत कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका नेपाली सेनाका सिपाही सुर्खेत गुर्भाकोट–१४ का अनिल गुरुङ रहेको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

अपरेसन ‘बाली’को दौरान नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोहीले आक्रमण गर्दा घाइते भएका गुरुङको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । उनको हेलिकप्टरबाट उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पताल उपचार गर्दागर्दै निधन भएको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गुरुङको निधनमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यो घटनाले नेपाली सेनालाई स्तब्ध बनाएको भन्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । गुरुङको बलिदानीपूर्ण योगदानको उनले उच्च सम्मान प्रकट पनि गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिवले पनि शोक विज्ञप्ति जारी गर्दै मृतक शान्ति सैनिकका परिवारका साथै नेपाल सरकार र नेपाली जनताप्रति समवेदना प्रकट गरेका छन् । साथै शान्ति सैनिकहरुमाथि आक्रमण गर्नु युद्ध अपराध हुने भन्दै यस घटनाको छानबिन गरी दोषिलाई कानुनी कठघरामा ल्याउन कंगोका अधिकारीहरुलाई आग्रह पनि गरेको छ ।

प्रतिक्रिया