नवलपुर अदालतमा पल शाह: आजदेखि थुनछेक बहस, के आउला आदेश?


काठमाडाैँ- थुनछेक बहसका लागि नवलपुरमा लगिएको अभिनेता पल शाहको बयान सकिएको छ। तनहुँ हिरासतबाट मंगलबार नवलपुर जिल्ला अदालतमा बयानका लागि ल्याइएको र आजदेखि थुनछेक बहस सुरु हुनेछ। नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीका अनुसार मंगलबार जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पलको बयान लिएको हो। पलको करिब छ घन्टा बयान लिइएको थियो।

थुनछेकमा सुरूमा सरकारी वकिलको तर्फबाट बहस हुने र पछि शाहको तर्फबाट ९ जना वकिलहरूले बहस गर्नेछन्। आज अधिकारीको इजलासले नै बयान लिएका कारण थुनछेक बहस पनि उनैको इजलासले गर्ने क्षेत्रीले जानकारी दिए।

बयान लिएर शाहलाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा नै राखिएको छ। नाबालिग बलात्कार गरेको अभियोगमा नवलपुरमा चैत ३ गते उनीविरूद्ध जबर्जस्ती करणी मुद्दा दायर भएको थियो। चैत १० गते जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले गरेको आदेशपछि पुर्पक्षका लागि शाह थुनामा थिए।

प्रतिक्रिया