वडा समाजवादी कार्यक्रम ल्याइन्छ : मुख्यमन्त्री पाण्डे


हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आगामी आर्थिक वर्ष २०७८/७९ मा वडा समाजवादी कार्यक्रम ल्याइने बताएका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको आगामी आव २०७८/७९ को बजेट तर्जुमाका लागि अन्तक्रिया तथा छलफल कार्यक्रममा उनले सरकारमा सामेल तीनवटै दलको नीति समाजवाद भएकाले वडामा पाइलट कार्यक्रमका रूपमा उक्त कार्यक्रम लैजानुपर्ने मुख्यमन्त्री पाण्डेले बताए।

उनले योजना बनाउँदा बहुवर्षीय योजनाका दायित्व छुट्याएर नयाँ योजना बनाउन मन्त्रालयलाई निर्देशन दिए। प्रदेश गौरवका योजना बनाउँदा मापदण्ड बनाइने, न्यूनतम साझा कार्यक्रममा आधारित भएर कार्यक्रम बनाइने र साधारण खर्चमा कमी ल्याइने मुख्यमन्त्री पाण्डेले बताए।

सीपयुक्त जनशक्ति निर्माण गर्नका लागि औद्योगिक पाठशाला र किसान पाठशालाको आवश्यक्ता रहेको उनको भनाइ छ । यसका साथै शैक्षिक क्षेत्रमा ध्यान दिइनेसमेत उनले बताए। संसद्मा रहेको विषयगत समिति र सबैदलसँग सुझाव लिएर कार्यक्रम तथा योजना ल्याउन पनि मुख्यमन्त्री पाण्डेले मन्त्रीलाई निर्देशन दिए।

त्यसैगरी आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले आर्थिक मामिला मन्त्रालयले विषयगत मन्त्रालयमा हस्तक्षेप नगर्ने बताउँदै न्यायोचित ढङ्गले बजेट सिलिङ गरिने जनाए। साथै अबण्डा बजेटलाई निरुत्साहित गरिने मन्त्री जम्कट्टेलले बताए। पूँजीगत र चालु खर्चलाई सन्तुलित सन्तुलित बनाइने उनको भनाइ छ ।

सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सरकारले एकीकृत बस्तीको योजना बनाउँदा रोजगारीको पनि व्यवस्था गरिनुपर्ने वा उत्पादनको सुनिश्चितता गरिनुपर्ने बताए। शिक्षालाई प्राथमिकतामा राख्न उनले सुझाव दिए।

प्रतिक्रिया