

श्रीलंकाका अर्थ मन्त्रीले नियुक्ती भएकाे दोश्रो दिनमै दिए राजिनामा

काठमाडौं – श्रीलङ्काका अर्थ मन्त्री अली साबरीले नियुक्त भएको दोश्रो दिनमा नै राजिनामा दिएका छन् । देशमा आर्थिक संकट बढेपछि आइतबार मन्त्रिपरिषदका सबै सदस्यले राजिनामा दिएका थिए । त्यसपछि सोमबार राष्ट्रपति गोटाया राजपाक्षेले ४ मन्त्री नियुक्त गरेका थिए । जसमध्येका साबरीले आज राष्ट्रपतिलाई पत्र लेखेर राजिनामा दिएका हुन् ।
साबरीले आफूले धेरै सोचविचार गर्दा देशको बिग्रिएको अर्थतन्त्र सुधार्नका लागि उत्कृष्ट सोच र व्यक्ति चाहिएकाले राजीनामा दिएको बताएका छन् । साबरीले राष्ट्रपति राजपाक्षेलाई पत्र लेखेर देशमा आएको आर्थिक संकटसँग जुध्नका लागि राम्रो व्यवस्था आवश्यक रहेको र त्यसका लागि नयाँ वित्तमन्त्री नियुक्त गर्नु पर्ने बताएका छन् ।
नयाँ वित्तमन्त्रीको नियुक्ती सहज बनाउन आफूले राजिनामा दिएको उनले पत्रमा लेखेका छन् । साबरी यसअघिको सरकारमा कानूनमन्त्री थिए । उनले राष्ट्रपतिले संसद बाहिरबाट गतिलो वित्तमन्त्री खोज्ने हो भने आफूले संसदीय सिटसमेत खाली गरिदिने बताएका छन् ।
श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएसँगै नागरिकले दैनिक उपभोग्य वस्तु पाउन छाडेका छन् । कागज किन्ने पैसा नहुँदा माध्यमिक तहका विद्यार्थीको परीक्षा रोकिएको छ, केही अस्पतालमा शल्यक्रिया प्रभावित भएको छ ।

