महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले परीक्षामा सहभागी भएका नक्कली परीक्षार्थीले क्याटेगोरीअनुसार रकम ‘डिल’ गरी परीक्षामा सहभागी भएको पाइएको बताए।‘उनीहरू क्याटेगोरीअनुसार डिल गरेर अरूको परीक्षा दिन गएका रहेछन्, उनीहरूले ५० हजारदेखि १ लाखसम्म अग्रिम रकम लिएको पाइएको छ, पूरा परीक्षा सकिंएर नतिजा आउँदा ५ देखि १८ लाखसम्म लिनेगरी डिल भएको देखिन्छ,’ महाशाखाका प्रमुख एसएसपी कुँवरले भने।उनका अनुसार फुल स्कलरसिपमा नाम निकाल्दा १८ लाखसम्म लिनेगरी डिल भएको पाइएको छ । यसैगरी, पेइङमा नाम निस्केको अवस्थामा सोहीअनुसार रकम लिने तथा पास मात्रै भएमासमेत रकम तोकेरै डिल गर्ने गरेको पाइएको छ।
‘कसले कति दिन सक्छ, कोसँग कति लिन सकिन्छ सोहीअनुसार डिल हुने गरेको रहेछ, जसले जति दिन सक्छ त्यति लिने गरेको अनुसन्धानले देखाएको छ,’ कुँवरले अघि भने।
यसरी नक्कली परीक्षार्थी खोज्नका लागि भने सक्कली परीक्षार्थीहरूले आफन्त, नातागोता तथा जेहेनदार विद्यार्थीहरूको साहरा लिने गरेको अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ।
पक्राउ पर्नेमा ललितपुरको किस्ट कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत अमर पण्डित, अनिकेत चौधरी र तेस्रो वर्षमा अध्ययनरत राम आशिष यादव छन् । यसैगरी, भारतीय नागरिक अहमद अन्सारी र परीक्षार्थी सन्नीकुमार साहसमेत पक्राउ परेको प्रहरीले भनेको छ । आरोपीहरूले परीक्षार्थीको नागरिकतासमेत बोकेर परीक्षामा सहभागी भएका थिए।
प्रहरीले उनीहरूलाई सीसीआरसी कलेज, एम्बिसन कलेज र कोटेश्वरस्थित ग्रामर स्कुलबाट पक्राउ गरिएको जनाएको छ । एमबीबीएसको इन्ट्रान्स परीक्षामा लामो समयदेखि नै सेटिङका आधारमा करोडौंको चलखेल हुने गुनासा र उजुरी पर्ने गरेको थियो।