भरतपुरको मेयर नछोड्ने कांग्रेस चितवनको निर्णय, ८ जनाको नाम चर्चामा


काठमाडौं – नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा आफ्नो दलले मेयर पद पाउनुपर्ने अडान राखेको छ।

आइतबार बसेको जिल्ला कार्य समितिको बैठकले भरतपुरमा मेयर नपाए एकल रूपमै चुनावमा जाने घोषणा गरेको हो।

सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरिसकेको अवस्थामा बसेको बैठकले भरतपुरको मेयर पदमा कांग्रेसले दाबी नछाड्ने निर्णय गरेको हो।

काँग्रेस जिल्ला सभापति राजेश्वर खनालले नेपाली कांग्रेसले मेयर पद नपाउने अवस्थामा एकल निर्वाचनमा जानुपर्ने निर्णय जिल्ला समितिले गरेको बताए।

भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारूढ गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्रले पनि दावी गर्दै आएको छ।

अहिले महानगरको मेयर माओवादी केन्द्रकी रेनु दाहाल छिन्। अघिल्लो स्थानीय चुनावमा मनोनयन फिर्ता लिने दिनमा तालमेल घोषणा भएको थियो।

यस पटक पनि मेयरमा माओवादीले दावी गरेकाले चितवन काँग्रेसको असन्तुष्टि सार्वजनिक रूपमा नै व्यक्त हुने गरेको छ।

चितवनका काँग्रेस कार्यकर्ताहरूले भने आगामी निर्वाचनमा रूखमा भोट हाल्न पाउनुपर्ने भन्दै नेतालाई दबाब दिँदै आएका छन्।

अघिल्लो हप्ता मात्रै चितवन गएर माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनावमा सत्तरूढ दलहरूबीच गठबन्धन हुने र भरतपुरको मेयरमा आफ्नो दावी रहने बताएका थिए।

दाहालले यसपाली पनि सत्तारूढ गठबन्धनको बैठकले महानगरपालिकामा तालमेलको निर्णय गर्ने दाबी गरेका थिए। माओवादी पार्टी पुनः एक पटक रेनुलाई नै भरतपुरको मेयरमा दोहोर्‍याउनुपर्ने पक्षमा छ।

आइतबार भएको चितवन कांग्रेसको बैठकमा चितवनबाट निर्वाचित पार्टीका केन्द्रीय सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, महासमिति सदस्यहरु, पूर्व जिल्ला सभापतिहरु, सांसद, पूर्व सांसदहरु, क्षेत्रीय र प्रदेश सभापतिहरु, माहानगर भित्रका २९ वटा वडाका सभापतिहरुको उपस्तिथि रहेको थियो।

 

मेयरमा कांग्रेसबाट को-को छन् आकांक्षी?

स्थानीय तहको निर्वाचनमा पाँच दलबीच तालमेल हुँदा मेयर पद कांग्रेसको भागमा परेको अवस्थामा ८ जना नेताहरुको नाम चर्चामा रहेको छ। सोहीअनुरुप काँग्रेस नेता कार्यकर्ताहरुले घरदैलो अभियान समेत सञ्चालन गरिसकेका छन्।

टेकप्रसाद गुरुङ, दिनेश कोइराला, मिलनबाबु श्रेष्ठ, उत्तम जोशी, सूर्यकान्त घिमिरे, शंकर कँडेल, पार्वती शाह ठकुरी र चित्रसेन अधिकारीको नाम महानगरपालिकाको मेयरमा चर्चा छ।

पुराना र अग्रज नेताको हैसियतमा कांग्रेसका पूर्वसभापति समेत रहेका गुरुङको नाम मेयरमा अग्रपंक्तिमा रहेको छ।

गुरुङले विगतमा जिल्ला पञ्चायतको सभापति चलाइसकेकोले पनि उनी यो पदको लागि योग्य रहेको कार्यकर्ताको दाबी छ।

त्यस्तै नेपाली कांग्रेसबाट २०७४ सालको स्थानीय निर्वाचनमा भरतपुर महानगर मेयरको उम्मेदवार भएर पनि अन्तिम अवस्थामा नाम पार्टीले फिर्ता लिइदिएका दिनेश कोइरालालाई पनि कांग्रेस कार्यकर्ता र शुभचिन्तकहरुले मेयरको रुपमा हेर्न चाहेका छन्।

यसपटक मेयरको टिकट उनलाई दिएमा उनीप्रति अघिल्लो निर्वाचनमा पार्टीबाट गरिएको अन्यायको अन्त्य हुने धेरैको दाबी छ।

त्यस्तै बागमति प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठको पनि भरतपुर महानगरपालिकाको मेयरमा चर्चा चलेको छ। सभापति देउवा निकट श्रेष्ठ जिल्ला सभापतिको निर्वाचनका मुख्य थिए।

राजनीतिक प्रभाव र शक्तिका आधारमा पनि उनलाई मेयरमा हेर्न चाहेको कतिपय कांग्रेसी कार्यकर्ताको भनाइ छ।

यस्तै कांग्रेस चितवनको निर्वाचनमा सभापतिमा उम्मेद्वारी दिएर छुट्टै माहोल बनाएका उत्तम जोशी पनि मेयरमा दावी गरेका छन्।

नेपाली कांग्रेसबाट भरतपुरको मेयरमा कृषि विश्वविद्यालयका पूर्वरजिष्टार सूर्यकान्त घिमिरेको पनि चर्चा चलेको छ। उनलाई विद्वान र ‘भिजन’ भएका नेताको रुपमा लिने गरिन्छ।

त्यसैगरी भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीले महिलाको रुपमा मेयरको उम्मेदवार बन्नुपर्ने कतिपयको तर्क छ। २०७४ को निर्वाचनमा उनले मेयर रेनु दाहालभन्दा धेरै भोट ल्याएकी निर्वाचित भएकी थिइन्।

कांग्रेस कार्यकर्ताको माझमा भरतपुर महानगरपालिका–८ का गौरीगञ्जका नेता शंकर कँडेलको नाम पनि चर्चामा छ। नेपाली कांग्रेस महासमिति सदस्यसमेत रहेका उनी यसअघि जिल्ला कमिटीको कोषाध्यक्ष रहेका थिए।

भरतपुर महानगरका सभापति चित्रसेन अधिकारीको नाम पनि मेयरका लागि कांग्रेस कार्यकर्ताहरुको माझमा चर्चामा छ। पश्चिम चितवनमा प्रभावशाली बन्दै गएका अधिकारी भरतपुर महानगरपालिका २१ का वडाध्यक्ष पनि हुन्।

आइतबार मात्रै काँग्रेसले मेयर पद आफैँले राख्ने निर्णय गरेसँगै कांग्रेसबाट मेयरको उम्मेदवार को बन्छ भन्ने निश्चित हुनको लागि अझै केही दिन पर्खनुपर्ने हुन्छ।

यसअघिको स्थानीय निर्वाचनमा भरतपुरमा जनमतको हिसाबले पनि कांग्रेस पहिलो नम्बरमा थियो। महानगरको मेयर पद निकै प्रभावशाली र पाँच वर्ष ढुक्कसँग काम गर्न पाइने पद भएकोले पनि यसमा धेरैको आकांक्षा बढेको छ।

प्रतिक्रिया