
स्थानीय तह निर्वाचनमा हामी विगतको भन्दा प्रगति गर्छौं : वर्षमान पुन
काठमाडाैँ- नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले अघिल्लो निर्वाचनमा भन्दा उल्लेख्य प्रगति गर्ने दाबी गरेका छन्। माओवादीले २०७४ को स्थानीय तहको निर्वाचनमा झण्डै एक हजार ३ सय वडा र १ सय १६ पालिकामा जीत निकालेको थियो।
निर्वाचनमा वाम पार्टीमध्ये आफूहरु सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित हुने दाबी माओवादी केन्द्रको केन्द्रीय कार्यालयका इञ्चार्जसमेत रहेका पूर्वमन्त्री पुनले गरेका हुन्।
प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिले बिहीबार ललितपुरमा गरेको कार्यक्रममा नेता उनले भने, ‘हामी आफ्नै तागतमा विश्वास गर्छौं । यो निर्वाचनमा विगतको भन्दा राम्रो नतिजा हामी निकाल्छौं। उनले आफूहरु गठबन्धनको विरोधी नभए पनि कमजोर स्थानमा मात्रै गठबन्धन हुने र सबै स्थानमा भने नहुने स्पष्ट पारे।
अन्य दलको तुलनामा माओवादी कमजोर नभएको तथा जनताको विश्वाससमेत कायम भएकाले त्यसैमा भर पर्नुपर्ने उनको भनाइ छ। दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्ने, संविधानको मूलमर्म र भावनामा प्रहार गर्ने एमालेसँग जनताको घरदैलोमा जाने एजेन्डा नभएपछि अन्य राजनीतिक दलको तेजोबोधन गर्न लागिपरेको उनको भनाइ छ।
अन्य पार्टीले जितेका भन्दा माओवादीले नेतृत्व गरेका पालिकाको पाँच वर्षे कार्यसम्पादन अब्बल रहेको, बेरुजु कम भएको, विकास निर्माण प्रभावकारी भएको तथा अन्य सूचकसमेत राम्रो भएको जनाउँदै उनले त्यही कुरा लिएर जनतामा जानुपर्नेमा नेता पुनको जोड थियो।
अग्रगामी एजेन्डा, विचार, राजनीतिलगायतका कारणले पनि अन्य दलभन्दा माओवादी अब्बल रहेको भन्दै उनले आफ्नै बलबूतामा आफूहरुले पुनः श्रेष्ठता हासिल गर्ने बताएका हुन्। पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पुनले कोरोनाका कारण संसारभरकै अर्थतन्त्रमा समस्या देखिएका कारण त्यसको असर नेपालमा पनि परेको बताए।
‘अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि अर्थमन्त्रालयले पहल गरिरहेकै छ । त्यसमा अन्य मन्त्रालयको पनि उत्तिकै साथ र सहयोग रहनु आवश्यक छ । प्रधानमन्त्रीको तहमा नै चासो हुनु आवश्यक छ,’ उनले भने, ‘दोष जति अर्थमन्त्री र अर्थमन्त्रालयलाई दिएर कोही पनि उम्कन मिल्दैन । यो नेपालको मात्रै समस्या होइन । विश्वभरकै समस्या हो।’



कागजपत्र |
