स्थानीय तहको निर्वाचन : मतपत्रको परीक्षण छपाइ सुरु


काठमाडाैँ- आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रको परीक्षण छपाइ सुरु भएको छ। मतपत्र छपाइ हुँदा मापदण्डअनुरुपको निर्वाचन चिह्न छपाइ भयो भएन भनी यकिन गर्न तीन दिनसम्म परीक्षण छपाइ हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको आयोग पदाधिकारी टोली सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड गएर मतपत्र मुद्रण मेसिनको क्षमता र मतपत्र छपाइ परीक्षणबारे जानकारी लिएका छन्। मतपत्र छपाइभन्दा अघि मेसिन परीक्षण गरिएको छ।

आगामी स्थानीय तह निर्वाचनका लागि करिब दुई करोडको सङ्ख्यामा मतपत्र छपाइको तयारी छ। विगतमा मतदाता सङ्ख्याको १५ प्रतिशतसम्म बढी मतपत्र छपाइ हुने गरेकामा यसपटक आयोगले १० प्रतिशत मात्र बढी मतपत्र छपाउन लागेको छ। कतिपय जिल्लामा हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने भएकाले पहिले दुर्गम क्षेत्रका लागि मतपत्र छपाइ हुनेछ।

काठमाडौँ उपत्यकाका महानगर र नगरपालिकाका लागि भने उम्मेदवारी मनोनयनपछि मात्र मतपत्र छपाइ गरिने आयोग स्रोतले जानकारी दिएको छ। नेपाली सेनाको सुरक्षा व्यवस्थापनमा मतपत्र छपाइ कार्य हुनेछ।

प्रतिक्रिया