

सैन्य र कूटनीतिक क्षेत्रका ज्ञाता थम्सन बन्दैछन् नेपालका लागि अमेरिकी राजदूत

काठमाडौँ– अमेरिकाले नेपालका लागि नयाँ राजदूत प्रस्ताव गरेको छ। ह्वाइटहाउसका अनुसार मंगलबार राष्ट्रपति जो बाइडेनले परराष्ट्र सेवामै रहेका डिन थम्पसनलाई नेपालका लागि राजदूत प्रस्ताव गरेका हुन्।
२५ वर्ष अमेरिकी परराष्ट्र सेवामा बिताएका थम्पसनले अहिले अमेरिकी विदेश मन्त्रालयमा दक्षिण तथा मध्य एसियाली मामिलामा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीका रूपमा काम गरिरहेका व्यक्ति हुन्। उनी सैन्य र कूटनीतिक क्षेत्रका माहिर खेलाडी तथा ज्ञाता हुन्।
अमेरिकी सहायता परियोजना एमसीसी लागू हुने समयमा नयाँ राजदूत प्रस्तावलाई लिएर चासेका साथ हेरिएको छ। राष्ट्रपति बाइडेनले गरेको प्रस्ताव संसदीय सुनुवाइबाट अनुमोदन भएपछि थम्पसन नयाँ राजदूतका रूपमा नेपाल आउन लागेका छन्। चीनसँग नेपाल मामिलालाई लिएर तनाव सिर्जना भएका बेला अमेरिकाले आफ्ना वरिष्ठ कुटनीतिज्ञ नेपाल पठाउन लागेको हो।
उनी सेप्टेम्बर १५, २०२१ यता अमेरिकी बिदेश मन्त्रालयमा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरीको पदमा कार्यरत थिए। उनको औपचारिक नियुक्त प्रकृया पुरा हुन केही महिना लाग्नेछ। खासगरी अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर वासिङ्टन र बेइजिङबीच सार्वजनिक रुपमा भनाबैरी भएको एक महिनापछि अमेरिकी बरिष्ठ कुटनीतिज्ञ नेपालका लागि राजदूतमा प्रस्तावित भएका हुन्।
त्यसबेला अमेरिकाले एमसीसी संसदबाट अनुमोदनमा ढिलाईमा चीनको भूमिका रहेको आशंका सार्वजनिक रुपमै व्यक्त गरिदियो। जवाफमा चीनले अमेरिकालाई नेपालमाथि अनुदान दिने नाममा कुटनीतिक बलमिच्याईँ नगर्न चेतावनी दियो।

