
बौंदीकालीमा सय वर्ष बढीका १४ मतदाता, रुचाङमा भेटिए १११ वर्षीय वृद्ध !
मृत्यू भइसकेकाको नामावली यथावत्, कतिपयको २ जिल्लामा नामावली
नवलपुर – आगामी स्थानीय तह निर्वाचनमा नवलपुर (ब.सु.पू) को बौंदीकाली गाउँपालिकामा सय वर्षमाथिका १४ जना मतदाता रहेका छन् ।
निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम मतदाता नामावलीअनुसार बौंदीकाली गाउँपालिकामा सबैभन्दा बढी १११ वर्षका मतदाता समेत रहेका छन् ।
बौंदीकालीको वडा नं. ४ मा १११ वर्षका एक पुरुष रहेका छन् भने सबैभन्दा धेरै वडा नं. २ डेढगाउँमा ५ जना १०९ वर्षका मतदाता रहेका छन् भने १ जना १०३ र अर्का १ जना १०१ वर्ष गरी सय वर्षमाथिका ७ जना मतदाता रहेका छन् ।
त्यस्तै वडां. ३ रकुवामा ३ जना सय वर्षमाथिका मतदाता रहेकोमा उनीहरुको उमेर १०९, १०२ र १०१ वर्ष रहेको छ । त्यस्तै वडा नं. ५ जौबारीमा भने १ जना १०९ वर्षीया मतदाता रहेको आयोगको तथ्यांकमा जनाइएको छ । त्यस्तै वडा नं. ६ नरममा सय वर्षमाथिका २ जना रहेका छन् । उनीहरु दुवैको उमेर १०९ वर्ष रहेको छ ।
निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचनमा मतदान गर्ने अन्तिम नामावली प्रकाशित गरेको छ ।
निर्वाचन आयोगको तथ्यांकअनुसार अहिलेको अवस्थामा नेपालमा सय वर्षमाथिका मतदाता पनि प्रसस्तै देखिएको छ । कतिपय अवस्थामा अझै पनि मृतकहरुको नाम पनि यथावत् नै रहेको छ । त्यस्तै कतिपय व्यक्तिहरूको दुइ स्थानमा पनि नामावली रहेको पाइएको छ ।
निर्वाचन आयोगका अनुसार आगामी निर्वाचनमा देशभर १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता रहेका छन् । ती मध्ये ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता रहेका छन् भने ८७ लाख ४१ हजार ५ सय ३० जना महिला मतदाता रहेका छन् भने देशभरिमा १८३ जना तेस्रो लिंगी मतदाता रहेको आयोगले जनाएको छ ।
आयोगले सबैभन्दा बढी र सबैभन्दा कम मतदाता भएका जिल्ला, स्थानीय तहका साथै सबैभन्दा बढी र कम मतदान केन्द्र भएका प्रदेश र जिल्लाको विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार सबैभन्दा बढी मतदाता भएको जिल्लामा मोरङ पहिलो नम्बरमा छ भने त्यसपछि झापा र तेस्रोमा काठमाडौं रहेको छ । मोरङमा ७ लाख १५ हजार २२३ मतदाता रहेकोमा झापामा भने ६ लाख ४६ हजार २३४ मतदाता रहेका छन् । त्यस्तै काठमाडौंमा ६ लाख ३७ हजार ७७५ मतदाता रहेको आयोगले जनाएको छ ।
त्यस्तै सबैभन्दा कम मतदाता रहेका तीन जिल्लामा क्रमशः मनाङ, मुस्ताङ र डोल्पा पहिलो, दोस्रो र तेस्रो रहेका छन् । मनाङमा ६४९६ मतदाता रहेका छन् भने मुस्ताङमा १० हजार ४८५ र डोल्पामा २२ हजार ४४० मतदाता रहेको आयोगले जनाएको छ ।
सबैभन्दा बढी मतदाता काठमाडौं महानगरपालिकामा रहेका छन् भने सबैभन्दा कम मतदाता मनाङको नार्पा भूमि गाउँपालिकामा रहेको पनि आयोगले जनाएको छ । आयोगका अनुसार काठमाडौंमा ३ लाख २ सय ४२ मतदाता छन् भने नार्पाभूमिमा ४४८ मतदाता रहेका छन् ।



कागजपत्र |
