‘अफिस ब्याग’ किन्न ४ करोड ४५ लाख बजेट खर्चिँदै निर्वाचन आयोग


काठमाडाैं – निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीहरूका लागि ५० हजार झोला (अफिस ब्याग) खरिद गर्ने भएको छ । प्रतिझोला ८९०.४४ रुपैयाँका दरले ५० हजार थान झोला खरिद गर्न आपूर्तिकर्तासँग सम्झौता गर्ने तयारी गरेको छ ।

आयोगले ५० हजार झोला खरिद गर्न आपूर्तिकर्ताले प्रस्ताव गरेको भ्याटसहित ४ करोड ४५ लाख २२ हजार रुपैयाँमा सम्झौता गर्दैछ । २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले झोला किन्न जीएच मेडी हेल्थ कन्सर्न प्रालिसँग सम्झौता गर्दैछ ।

निर्वाचन आयोगद्वारा प्रकाशित सूचना अनुसार २०७८ चैत्र १० गते दिनको १२ बजेभित्र दर्ता हुन आएका बोलपत्रहरूमध्ये जीएच मेडी हेल्थ स्वीकृत भएको हो । आयोगको चैत्र ११ गतेको निर्णय अनुसार फर्मको प्रस्तावलाई स्वीकृत गरेको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार २१ हजार ९९५ मतदान केन्द्र हुने भएकाले झण्डै २२ हजार निर्वाचन अधिकृत र २२ हजार सहायक निर्वाचन अधिकृत गरी ४४ हजार झोला वितरण गरिनेछ । त्यसैगरी ७५३ जना पालिकास्तरीय निर्वाचन अधिकृत, ७७ वटा निर्वाचन कार्यालयका लागि कर्मचारीलाई पनि झोला वितरण गरिनेछ । त्यसैगरी २२ हजार मतदान केन्द्रका १० प्रतिशत अर्थात् २ हजार अतिरिक्त जगेडा निर्वाचन अधिकृतलाई पनि झोला वितरण गरिने अर्यालले बताए ।

‘केही निर्वाचन अधिकृत बिरामी पर्नसक्ने अवस्थालाई ध्यानमा राखेर १० प्रतिशत अतिरिक्त निर्वाचन अधिकृतलाई हामीले तालिम दिएर राखेका हुन्छौं,’ अर्यालले भने, ‘ती जगेडा निर्वाचन अधिकृतलाई पनि ब्याग वितरण गर्नेछौं ।’

प्रतिक्रिया