सुतेकै ठाउँमा श्रीमतीलाई आगो लगाएर जलाउन खोज्ने पक्राउ


काठमाडौं – आफनै श्रीमतीलाई आगो लगाएर जलाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सिरहा लाहान नगरपालिका-७ घर भएका काठमाडौंको बुढानीलकण्ठ नगरपालिका – १० कपन आकोशधारामा डेरा गरी बस्ने ४२ वर्षीय प्रविन चौधरी पक्राउ परेका हुन् ।

टिनले छाएको एक तले टहराको कोठामा शुक्रबार राति चौधरीले आफ्नै श्रीमती ३० वर्षीया अस्मिता चौधरीलाई सुतिरहेको अवस्थामा शरीरमा तारपिन तेल खनाएर आगो लगाइदिएका थिए । उनको डेरा नजिकै बस्ने महानगरीय प्रहरी पहरा गण सामाखुसीबाट मन्त्री निवास हरिहर भवन पुलचोकमा कार्यरत प्रहरी सहायक निरीक्षक संयोग राईले थाहा पाए ।

उनले ढोको फोडेर  महानगरीय प्रहरी प्रभाग कपनबाट खटिइएको प्रहरी टोली र स्थानीय समेतको सहयोगमा उद्धार गरिएको थियो । घाइतेलाई उपचारको लागि साँखु स्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको विभिन्न भागमा पोलेको प्रहरीले जनाएको छ।

चौधरीलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया