बैतडीमा राष्ट्रिय परिचयपत्र वडा तहबाट वितरण हुने
बैतडी – बैतडीमा राष्ट्रिय परिचय पत्रको काम वडा तहबाटै हुने भएको छ । यसअघि जिल्ला प्रशासनमा हुँदै आएको परिचयपत्र विवरण सङ्कलनको काम अब वडा तहबाटै गर्न लागिएको हो ।
दुई चरणमा सञ्चालन हुने उक्त कार्यक्रम पहिलो चरणमा यही चैत ६ गतेदेखि सुरु हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। दश स्थानीय तह रहेका जिल्लाका चार स्थानीय तहमा पहिलो चरणमा उक्त कार्यक्रम सञ्चालन हुनेछ ।
पहिलो चरणमा शिवनाथ, सिगास, डिलाशैनी र पञ्चेश्वर गाउँपालिकाका वडा वडामा विवरण सङ्कलनको काम सञ्चालन हुने सूचना अधिकारी भारतीले बताए । एक पालिकामा कम्तीमा १५ दिनसम्म कार्यक्रम सञ्चालन हुन्छ, प्रत्येक वडामा कर्मचारी खटाएर विवरण सङ्कलन गर्छौ ।
विवरण सङ्लनका लागि कर्मचारी वडा कार्यालयमै खटाइने र यसका लागि ३५ विवरण दर्ता अपरेटर परिचालन हुनेछन् उनले भने । विवरण सङ्कलन गरिसकेपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले परिचयपत्र जारी गर्ने र सो परिचयपत्र वडाबाटै वितरण हुने जनाइएको छ ।
पहिलो चरणमा चार स्थानीय तहको विवरण सङ्कलन भएपछि त्यसपछि जिल्लाका अन्य स्थानीय तहका वडामा पनि विवरण सङ्कलनको काम सञ्चालन हुनेछ । सोह्र वर्ष उमेर पूरा भई नेपाली नागरिकता लिएका नागरिकको विवरण सकंल हुनेछ ।
राष्ट्रिय परिचय पत्र बहुउपयोगी भएकाले आफ्नो नाम दर्ता गराउन प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आग्रह गर्नुभएको छ । विस २०७७ असोज पहिलो सातादेखि सुरु गरिएको उक्त विवरण सङ्कलनमा हालसम्म सात हजारभन्दा बढी सहभागी भइसकेका छन् ।