आगामी निर्वाचनले माओवादीकाे भविष्य निर्धारण गर्छ : प्रचण्ड


काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन पार्टीकाे भविष्य निर्धारण गर्ने बताएका छन् ।

बुधबार कमलादीमा माओवादीको वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव माओवादीकाे लागि जीवन-मरण ‘लाइफ एण्ड डेथ’ काे अन्तिम परीक्षा हुने अध्यक्ष प्रचण्डले बताएका हुन् ।

आगामी निर्वाचनमा माओवादीलाई समाप्त पार्न विदेशी शक्ति हात धोएर लागिपरेको प्रचण्डको भनाइ थियो । प्रचण्डका अनुसार विदेशी प्रतिक्रियावादी शक्ति देशमा माओवादीबाहेक दुई वटा दलमात्रै बनाउन लागि परेको छ ।

‘अहिले दुई वटा पार्टीमात्रै बनाउने कसरत चलिरहेको छ। दुई बुर्जुवा पार्टी पालैपालो शासन गर्ने । अरु परिवर्तनकारी पार्टी सिध्याउने षड्यन्त्र छ,’ अध्यक्ष प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले गठबन्धनबाट निर्वाचन जितिएला र खाउँला भन्ने आश गरेर बस्ने दिन नभएको पनि बताए । आफ्नो खुट्टा दह्रो बनाएर आफ्नै तागतले निर्वाचन जित्नुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया