
पल शाहको बयानः ‘गुडनाइट भन्न ढोकासम्म गएँ, जबरजस्ती गरिन्’
काठमाडौं – नाबालिग बलात्कार आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहले बयानका क्रममा जबरजस्ती नगरेको बताएका छन्। आफूबिरुद्ध बलात्कार आरोप लगाउने नाबालिग महिलामाथि जबरजस्ती नगरेको उनले बयान दिएका हुन्।
नवलपरासीको कावासोतिस्थित सरकारी वकिलसामू शाहले बयानका क्रममा जबरजस्ती नगरेको तर राति ‘गुडनाइट’ भन्न मात्र गएको भनेर बयान दिएको प्रहरी स्रोतले बतायो।
पलले सरकारी वकिलसामु बयानका क्रममा भने, ‘‘सुटिङका क्रममा हामी भेटिएका हौँ। राति सुत्ने बेला म ‘गुडनाइट’ भन्न ती गायिकाको ढोकासम्म पुगेँ। तर जबरजस्ती गरिन।’
‘ती गायिका र मेरो कोठा चाहिँ नजिकै थियो। १०१ नम्बर कोठामा म थिएँ। र, गायिका १०२ नम्बर बसेकी थिइन्। होटल सुटिङ युनिटले बुक गरेका हुन्। को–को कहाँ रहे भन्नेबारे सबै थाहा भएन,’ पलको भनाइ उदृत गर्दै प्रहरी स्रोतले भन्यो।
घटनाको सम्बन्धमा प्रहरीले पललाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ। एक नाबालिग महिलाले आफूलाई पटक–पटक बलात्कार गरेको भन्दै पलविरुद्ध उजुरी दिएकी थिइन्।
ती नाबालिगले एक गीतको छायांकनको क्रममा गत चैत ७ गते नवलपरासीस्थित गैँडाकोटको होटलमा आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी दिएकी हुन्।
सोही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट पल शाहलालाई गैँडाकोट पठाइएको थियो। गैँडाकोटमा संकलित प्रमाण र बयानसमेत तनहुँमा पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ।
अनुसन्धानका लागि जिल्ला अदालत तनहुँले पहिलो पटक सात दिनको म्याद थपेको थियो। त्यसपछि दोस्रो पटक १२ दिनको म्याद थपेको छ।



कागजपत्र |
