

अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा ‘मार्जिन’

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् । आइतवार भन्सार विभागमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रमा देखिएको चुनौती सहज भएपछि आयातमा गरिएको नियन्त्रण हट्ने बताए ।
देशको अर्थतन्त्र यतिबेला चुनौतूर्ण अवस्थामा छ । यसलाई समाधान गर्न हामीले केही बस्तुको आयातमा मार्जिन राखेका छौं’ उनले भने, ‘यस्तो अवस्थाले भन्सार प्रभावित पनि भएको छ । तर, यो सधैंका लागि राखिएको होइन । हाम्रो बाध्यकारी परिस्थितिले यो अवस्था सृजना भएको । स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्नेछ ।’
आयातमा मार्जिन राख्नुपर्ने विभिन्न ४७ वस्तुको एकै मासिक आयात ४३ करोड रूपैयाँ नाघेपछि राष्ट्र बैंकले अनिवार्य मार्जिनको व्यवस्था गरेको हो । आयातमा मार्जिन राख्नुपर्ने व्यवस्था भएका वस्तुको आयात साउनमा ३५ अर्ब थियो । यस्तो आयात भदौमा ४३ अर्ब, असोजमा ४० अर्ब, कात्तिकमा ३७ अर्ब, मंसिरमा ३७ अर्ब रहेको छ ।
पुसमा ३० अर्ब र माघमा भने यस्तो वस्तुको आयात २९ अर्ब रूपैयाँमा झरेको छ । आयातमा मार्जिन राख्न थालेपछि यी वस्तुको आयात कम भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । यी वस्तुको आयात फागुनमा अझै कम हुने अनुमान गरिएको छ ।
यस्तै, अर्थमन्त्री शर्माले आयातमा गरिएको कडाइले भन्सार असुली प्रभावित भए पनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशन समेत दिएका छन् । भन्सार कार्यालयमा देखिएका समस्या समाधान गर्न, नीतिबाट सृजित नयाँ चुनौतीको सामना गर्दै राजश्व परिचालनमा प्रभावकारी हुन र व्यापार सहजीकरणमा उत्कृष्ट भूमिका खेल्न गोष्ठि प्रभावकारी हुने विश्वास लिएको बताए ।
भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म तीन खर्ब ५ अर्ब राजस्व संकलनको लक्ष्य भएपनि आयातमा गरिएको कडाईका बाबजुत तीन खर्ब ८ अर्ब राजस्व संकलन भएको जानकारी दिएका थिए । यो गत बर्ष सोही समयको तुलनामा २९ प्रतिशत राजश्व संकलन बढी हो । सो अवसरमा अर्थमन्त्री शर्माले निर्यातमा सुधार भइरहेकामा खुशी व्यक्त गरेका थिए ।

