

कैलाली प्रहरीको सफलताः भारतीय नागरिकको हत्यामा संलग्न दुईजना पक्राउ
प्रदेशसभा अगाडि भेट, अटोको भाडामा कुरा नमिल्दा गुप्ताको हत्या

काठमाडौं – कैलालीको धनगढीमा हत्या गरेर फालिएको अवस्थामा फेला परेका कुलदिप गुप्ताको हत्यामा संलग्न दुई जनालाई कैलाली प्रहरीले पक्राउ गर्न सफल भएको छ।
पक्राउ पर्नेहरुमा बाजुरा खप्तड छेडेदह गापा– २ बस्ने बर्ष २४ को राजेन्द्र बुढा र सोही ठाउँका बर्ष २० को भुपेन्द्र बुढा रहेका छन्। उनीहरुले अटोको भाडाको विषयमा विवाद हुँदा गुप्ताको हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्।
शुक्रबार पक्राउ परेका उनीहरुलाई कैलाली प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ।
गत २३ फागुनमा कैलाली धनगढी उपमहानगरपालिका –५ केराबारीस्थित सडक किनाराको नालीमा भारत उत्तर प्रदेश सहेजापुरका ४२ वर्षीय गुप्ताको हत्या गरी शव फेला परेको थियो।
शव फेला परेलगत्तै सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको बिशेष अनुसन्धान टोलीसहित कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारी अपराध अनुसन्धानका लागि घटनास्थल पुगेर अनुसन्धान शुरु गरेका थिए।
अनुसन्धानको क्रममा गुप्ता बिगत केही बर्षदेखि धनगढी उपमहानगरपालिका– ४ शिवपुरी धाम नजिक डेरा गरी बस्दै आएको खुलेको एसपी अधिकारीले बताए।
उनले भने, ‘विगत आठ महिनाअघि सपरिवार भारत गई फागुन २१ गते बिहान भारतबाट नेपाल आएका रहेछन्। सोहीदिन गुप्ता कान्छो भाई सुमित गुप्तासँग बसेको समेत पाइएको छ।’
त्यसको भोलिपल्ट २२ गते बिहान ९ बजेको समयमा भाइको डेराबाट गुप्ता ‘काम खोज्न जान्छु’ भनी निस्किए। धरान उमनपा–१ स्थित मिल्क फन आइक्रिमका सञ्चालक वंश गोपाल मिश्रासँग उनको भेट हुन्छ।
त्यहाँबाट गुप्ताले आइसक्रिमको ठेला लिएर जान्छन्। दिनभरी बिक्री गर्छन्। राती विक्री गरेको रकम मिश्रालाई दिएर कमिसनबापतको १२ सय ४० रुपैयाँ आफूले राख्छन्।
राती करीब ८ः३० बजेको समयमा वडा नं. १ अदालत रोडस्थित उनी दाजु प्रदिप गुप्ताको घरमा पुग्छन्। त्यहाँ उनीहरु दुवैजना मिलेर मादक पदार्थ सेवन गर्छन्। केही बेरपछि उनी त्यहाँबाट निस्किन्छन्।
अनुसन्धानकै क्रममा गुप्ता सोहीदिन राति ९ः२२ बजेको समयमा धनगढी मेनरोडस्थित कारागार जाने बाटोबाट पश्चिमतर्फ गइरहेको सीसीटिभी फुटेजमा देखिएको एसपी अधिकारीले जानकारी दिए।
तत्पश्चात् उनी पशुपतीटोल जाने बाटोबाट मेनरोडमा निस्की पार्कमोडतिर गएको समेत सीसीटिभीमा देखिन्छ। त्यसपछि उनी प्रदेशसभा अगाडि निलो रङको अटोको अगाडिको भागमा बसेर पुर्वतर्फ नैनादेवीसम्म गएको अुनसन्धानको क्रममा खुलेको छ।
त्यसपछि प्रहरीले उक्त अटोको खोजी गर्छ। अनुसन्धानको क्रममा निलो रङको अटोको खोजी गर्दै जाँदा प्रहरीले २७ गते बिहान गुप्ता चढेको से१घ २८६६ नम्बरको अटोलाई नियन्त्रणमा लिन्छ।
अटो चालक राजेन्द्र बुढालाई सोधपुछ गर्दा उक्त राती साथी भुपेन्द्र बुढासँग बसेर रुवस होटल अगाडिको एउटा पसलमा मदिरा सेवन गरेको अनुसन्धानबाट खुल्छ।
त्यसपछि जाईस्थित राजेन्द्र बुढाको डेरामा जानको लागि हिँडेकोमा पार्कमोडस्थित प्रदेशसभा अगाडि गुप्तासँग उनीहरुको भेट हुन्छ।
गुप्ताले जाली जाने भनेपछि अटोको अगाडि सिटमा राखेर नैनादेवी मन्दिर हुँदै चक्मेली बजारबाट शिवनगरको बाटो हुँदै अगाडि बढ्छन्।
र, सोही क्रममा गुप्ता र अटो चालक राजेन्द्र बुढाबीच भाडाको बिषयमा विवाद हुन्छ। शिवनगरबाट जाई जाने सडकको कल्र्भट नजिक पुगेपछि गुप्ताले ‘नेपाली लोग’ भनेर गाली गलौज गरेको एसपी अधिकारीले बताए।
त्यसपछि उनीहरुबीच हात हालाहाल हानाहान हुन्छ। गुप्ता सडक छेउ नालीमा खस्छन्। सोही मौकामा भुपेन्द्र बुढाले अटोमा रहेको काठको टुक्रा झिकेर गुप्तामाथि प्रहार गर्छन्। सोहीक्रममा उनको मृत्यु हुन्छ।
गुप्ताको मृत्यु भएपछि उनीहरु त्यहाँबाट भाग्छन्। मादक पदार्थ सेवन गरेको अवस्थामा तत्कालको रीस आवेग थाम्न नसकी गुप्ताको हत्या गरेको उनीहरुले प्रहरीसमक्ष स्वीकार गरिसकेको एसपी अधिकारीले बताए।
उनीहरु दुवै जनालाई पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

