सङ्घीयता बलियो बनाउन एकताबद्ध प्रयास आवश्यक : मुख्यमन्त्री पोखरेल


कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलुकको राजनीतिक स्थिरतासँगै सङ्घीयतालाई बलियो बनाउन एकताबद्ध प्रयास हुनुपर्ने बताएका छन्। गण्डकी प्रेदशसभाको आजदेखि सुरु भएको नवौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रदेश सरकार जनताले सङ्घीयताको महसुस गर्ने गरी विकास निर्माण कार्य अघि बढेको बताए ।

प्रदेश सरकार अस्तित्वमा आएको चार वर्ष बितिसक्दासमेत सङ्घले कतिपय कानून नबनाइदिएका कारण काम अगाडि बढ्न नसकेको बताउँदै मुख्यमन्त्री पोखरेलले निजामती ऐन नआउँदा राष्ट्रसेवक कर्मचारीको वृत्तिविकास हुन नसकेको उल्लेख गरे ।

लोककल्याणकारी राज्यको अवधारणानुसार नागरिकलाई अधिक सेवा र सुविधा दिन प्रदेश सरकार लागिपरेको उल्लेख गर्दै उनले प्रदेशभित्रका नागरिकलाई निःशुल्क रगत तथा रगतजन्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिए ।

गण्डकी प्रदेशको पहिलो समृद्धिको आधार पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि प्रदेश सरकारले पर्यटन विकासको सम्भाव्यता र अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारका लागि नेपालस्थित विभिन्न विदेशी राष्ट्रका राजदूत तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया