पोखरालाई आर्थिक विकासको हब बनाउनुपर्छ : मुख्यमन्त्री पोखरेल


पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई आर्थिक विकासको हब बनाउने खालका योजना तर्जुमा गरेर अगाडि बढ्नपर्ने बताएका छन् ।

पोखरा महानगरपालिकाको १०औँ सभाको आज उद्घाटन कार्यक्रममा उनले भने, ‘गण्डकी प्रदेश हरेक सूचाकाङ्कमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसाबमा हामी पछाडि छौँ । यसमा हाम्रा नीति नियम कमजोर हुन् या कहाँ नेर कमजोरी छ त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनुपर्ने आवश्यकता छ ।’

पोखरा अब प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्रको रुपमा विकास अघि बढेको मुख्यमन्त्री दाबी छ । पोखरा भनेको कास्कीभित्रको सहरी क्षेत्र मात्र होइन पूर्वमा मुग्लिन र पश्चिममा राम्दीसम्मको भूभागलाई समेट्ने गरी विकास गर्न पोखराले चासो देखाउनुपर्नेमा जोड दिँदै उनले प्रदेश सरकारले सङ्घ सरकारको सहयोगमा स्टाटेलाइट सहर विस्तारका लागि गृहकार्य गरिरहेको जानकारी दिए ।

“सबै खालका गतिविधिलाई पोखराभित्र मात्र समेट्न सम्भव छैन । त्यसका लागि वृहत पोखराको परिकल्पना गरिएको हो”, मुख्यमन्त्री पोखरेलले भने, ‘स्थानीय तहका पाँच वर्ष पूरा हुनै लाग्दा अब आफूले आफैँलाई समीक्षा गर्नुपर्ने बेला भएको छ ।’

पोखराले पाँच वर्षमा पर्यटक दोब्बर बढाउने, उनीहरूको बसाइ अवधि लम्ब्याउँदै र खर्च पनि दोब्बर बनाउने गरी योजना ल्याउनुपर्छ भन्दै उनले यसका लागि प्रदेश सरकारले के सहयोग गर्नुपर्छ तयार रहेको बताए ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेका बेला अब यसको उपयोगका बारेमा चर्चा सुरु भइसकेको भन्दै मुख्यमन्त्री पोखरेलले ल्यान्डफिल साइटको विकल्पको खोजी र विमानस्थलसम्मको बाटो विस्तारतर्पm वेलैमा सोच्नुपर्ने बेला आएको छ ।

मुग्लिन पोखरा सडकखण्ड विस्तारको काम भइरहेकामा जामुने पोखरा खण्डमध्ये पोखरातर्फबाट काम थाल्नका लागि प्रदेश सरकारले आयोजना प्रमुखसँग कुरा गरिसकेको बताउँदै उनले मुग्लिन सडक स्तरोन्नतिको काम भइरहँदा विकल्पको रुपमा रहेको बुद्धसिंह मार्गलाई सञ्चालनमा ल्याउन प्रदेश सरकारले पहल गरेको खुलासा गरे ।

पोखरामा व्यवस्थित बसपार्क बनाउन धेरै ढिलाइ भइसकेको चर्चा गर्दै उनले प्रदेशको सहभागितामा लामेआहालमा बसपार्क बनाउनुपर्ने आवश्यकता औल्याए ।पोखरा महानगरका मेयर मानबहादुर जिसीले पोखरालाई सुन्दर बनाउनका लागि सबै एकजुट हुनुपर्ने भन्दै यसमा प्रदेश सरकारले पनि साथ दिनुपर्नेमा जोड दिए ।

उपमेयर मञ्जुदेवी गुरुङले पाँच वर्षको अवधिमा महानगरले जनताले अनुभूति गर्ने गरी कार्य सम्पादन गरेको बताउँदै कोरोनाको कारण विकास निर्माणमा अवरोध पुगेको बताए ।

प्रतिक्रिया