गठबन्धन जोगाउन प्रचण्डको दौडधुप, सिंहदरबारबाट बालुवाटार पुगे


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री शेरबहादुरसँग भेटवार्ता गर्न बालुवाटार पुगेका छन्। सिंहदरबारमा माधवकुमार नेपाल र उपेन्द्र यादवसँग छलफल गरेलगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन्।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनालसहित जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष यादवसँग प्रचण्डले छलफल गरेका थिए।

उक्त छलफलमा एमसीसीमा भोटिङ भए विपक्षमा उभिने निश्कर्ष निकालिएको बताइएको छ। एमसीसी सदनमा पेश भइसकेको छ। आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ।

नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाको उपेन्द्र यादव पक्ष एमसीसीको विपक्षमा छन् भने जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष भने पारित गर्नुपर्ने पक्षमा छ।

एमसीसी आज संसदमा छलफल गराएर भोलि पारित गर्ने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ। तर, एमसीसीकै कारण सत्ता गठबन्धन फुट्ने अवस्था आएको कारण प्रचण्डको दौडाहा बढेको हो।

सत्ता गठबन्धन एमसीसीमा एकमत नहुने हो भने प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्यको हात अघि बढाउने निश्चित जस्तै छ।

प्रतिक्रिया